|

पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले महानगर प्रमुखका लागि २० वर्ष पुरानो गाडीको व्यवस्था गरेको छ। दुई दशकपछि भएको निर्वाचनबाट पोखरामा चुनिएर आउने नयाँ प्रमुखले २०५४ सालमा यसअघिका मेयरले चढेकै गाडी प्रयोग गर्नुपर्ने भएको हो।

पोखरा वातावरण सुधार आयोजना दोस्रो कार्यान्वयन हुँदा एडिबीको सहयोगमा पोखरा आएको २२३ नम्बरको गाडी पोखराका नयाँ प्रमुखले चढ्नेछन्। यसअघि पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका छौं,’ पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले समाधानसँग भने, ‘यो यसअघिका मेयरले नै चढेको गाडी हो।’

झन्डै ४ लाख रुपैयाँमा मर्मत गरेर नयाँ मेयरका लागि पुरानै गाडी चिटिक्क पारिएको छ। गाडीको पार्टपुर्जा फेर्ने, डेन्टपेन्ट लगायत गरेर गाडी तयार पारिएको चालक काजी गुरुङले जानकारी दिए। साधन र स्रोत कम भएकाले पुरानै गाडी व्यवस्था गरिएको कार्यकारी अधिकृत पौडेल बताउँछन्।

‘तत्काललाई पुरानै साधन, स्रोतको प्रयोग गर्नुपर्ने भएकाले त्यही हिसाबले सबै व्यवस्थापन गरेका हौं,’ पौडेलले भने, ‘जनप्रतिनिधि आएसँगै नयाँ नीति र साधन, स्रोतको पनि व्यवस्था होला।’

उपप्रमुखका लागि महानगरमा भएका गाडीमध्ये रोजेर दिइने कार्यकारी अधिकृत पौडेलले जानकारी दिए। २० वर्षपछि संघीय संरचनामा भएको स्थानीय निर्वाचनबाट केही दिनमा चुनिएर आउने प्रतिनिधिलाई अहिले कार्यरत कर्मचारीलाई समेत साँघुरो भएको पुरानो भवनमा कार्यकक्ष व्यवस्थापनको तयारी भइरहेको छ।

प्रमुख, उपप्रमुखका लागि कार्यकक्ष व्यवस्थापन हुँदै छ भने त्यसका लागि कुर्ची, सोफा लगायत फर्निचर खरिद, सवारी साधन, ड्राइभर, सचिव तथा सहयोगी व्यवस्थापन गरी सबै नतिजा आएसँगै स्वागत गर्ने तयारीमा पोखरा महानगर छ।

पोखराको समाधान दैनिकमा खबर छापिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.