|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन ३६ दिन बाँकी छ। मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसार अभियानलाई तिव्रता दिइरहेका छन्। ​

उम्मेदवारहरूले मतदाता रिझाउनका लागि अनेक हतकण्डा अपनाउन थालेका छन्। चुनाव जितेको पाँच वर्षसम्म एकपटक पनि जनताको पीर व्यथा बुझ्न टोलसम्म नपुगेका उम्मेदवारहरू निर्वाचनको समयमा जनताको चुलोसम्म पुगेका दृश्यहरु सार्वजनिक हुन थालेका छन् ।  

उनीहरुले मतदातासँगै बसेर खाना खानेदेखि लिएर क्यारम बोर्ड खेलेको दृश्यले सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी हुन थालेका छन् । ताप्लेजुङबाट चुनावी मैदानमा उत्रिएका नेकपा एमालेका सचिव योगेश भट्टराई यतिबेला मतदाता रिझाउन व्यस्त छन्।

उम्मेदवारी दर्ताका लागि गृह जिल्ला पुगेका उनी आफ्नो क्षेत्रका मतदाता भेटघाटमा व्यस्त छन्। मतदाता रिझाउन भट्टराई उनीहरुको चुल्होमै पुगेको र युवाहरुमाझ क्यारम बाेर्ड खेलेको तस्वीर चर्चा बटुलेको हो। 

त्यस्तै एमालेका अर्का सचिव गोकर्ण विष्टले मतदाताहरुमाझ बसेर खाजा खाएका छन् ।

गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने विष्ट मतदाता माझ लोकप्रिय नेताको रुपमा छवि बनाएका छन् । नेता कार्यकर्तामाझ मकैभटमास खाँदै गरेकाे विष्टको तस्वीरले पनि चर्चा कमाएको छ। 

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पनि गुल्मी २ बाट चुनाव लड्दैछिन्। सत्ता गठबन्धनको समर्थन पाएकी उनले एमाले नेता विष्टसँग प्रतिष्पर्धा गर्दैछिन् । 

तत्कालिन नेकपा एमालेबाट समानुपातिकबाट सांसद भएकी झाँक्री पाँच वर्षसम्म खासै मतदातामाझ नपुगे पनि यसपटक भने गुल्मी केन्द्रीत छिन् । निर्वाचनको घोषणा भएदेखि नै उनले निर्वाचन क्षेत्रमा आफ्ना गतिविधिलाई बढाएकी हुन्।

केही दिन अगाडि उनले ट्वीटरमा  मोटरसाइकल चढेर चुनाव प्रचार प्रसार गरेको फोटो भाइरल भइरहेको छ ।

साथै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता नेता राजेन्द्र महतो चुनावी मैदानमा छन् । उनी सर्लाही २ बाट चुनाव लड्न लागेका हुन् । २०७४ मा धनुषा ३ बाट निर्वाचित भएका महतोले यसपटक सर्लाही रोजेका हुन्।

उनी चुनावी अभियानमा व्यस्त छन् । महतो आफ्ना निर्वाचनका सबै मतदाता माझ पुग्ने कोसिस गरिरहेका छन् ।

महतोले खोला तरेको फोटो यतिबेला भाइरल भइरहेको छ। निर्वाचन जितेपछि सत्ता भागबण्डामा व्यस्त हुने दलहरूका यस्ता कामबाट मतदाता वाक्क भइसकेका छन्। आफ्ना क्षेत्रका समस्या समाधानका लागि नेताहरुलाई निर्वाचन जिताएर पठाए पनि काम नगर्ने प्रवृत्तिका कारण मतदातामा नैराश्यता बढेको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.