|

बारा  : आसन्न निर्वाचनमा बाराका चार लाख तेत्तिस हजार पाँच सय चार जना मतदाताले भाग लिने निर्वाचन आयोगले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचनमा स्थानीय तह निर्वाचन पछि थपिएको बाह्र हजार सात सय पैंतालिस मतदाता सहित चार लाख तेत्तिस हजार पाँच सय चार मतदाताले मत खसाल्ने भएका हुन्। 

मतदातामध्ये अधिक महिला संख्या दुई लाख छत्तिस हजार आठ सय असी र एक लाख छयान्नब्बे हजार छ सय बाह्र पुरुष रहेका छन्। यसबाहेक अन्य समूह (तेस्रो लिङ्गी) १२ जना रहेका छन्। जिल्लाको ४ वटा संघीय निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता क्षेत्र नं १ मा रहेका छन्। यो क्षेत्रमा एक लाख उन्नाइस हजार तिन सय पचहत्तर मतदाता र बाँकी ३ वटा संघीय निर्वाचन क्षेत्रमा भने एक लाख तिन हजार देखि एक लाख पाँच हजारको हाराहारीमा रहेका छन्।

५५५ मतदान केन्द्र

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचनमा ५५५ वटा मतदान केन्द्र निर्धारण गरेको छ। जिल्ला निर्वाचन कार्यालय बाराको तथ्याङ्कअनुसार जिल्लाको निर्वाचन क्षेत्र नं १ (क) मा ८६, (ख) मा ६९ वटा मतदान केन्द्र तोकिएको छ भने जिल्लाको दक्षिणी भेगमा भारतीय सीमासँग जोडिएको  निर्वाचन क्षेत्र नं २ (क)मा  ६९ (ख) मा ६७ वटा मतदान केन्द्रहरु रहेका छन्।

बारा निर्वाचन क्षेत्र नं ३ (क)मा ६९ र (ख) मा ६३ वटा र जिल्लाको उत्तरी भेग मकवानपुरसँग जोडिएका बारा–पर्सा औधोगिक करिडोर समेटिएको निर्वाचन क्षेत्र नं ४ मा  (क)मा  ६४ र (ख) ६८ वटा मतदान केन्द्रहरु रहेका छन्। आयोगले संघ र प्रदेशमा  जिल्लाभरका लागि तिन सय पाँच वटा मतदान स्थल निर्धारण गरेको छ।

गत २०७४ साल मङ्सिर २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ३ लाख ४९ हजार ९ सय ४६ मतदाताहरूका लागि ३ सय ३ मतदान स्थलको व्यवस्था गरिएको थियो।

जिल्लाको ४ वटा संघीय निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ र ४ सबैभन्दा महत्वपूर्ण क्षेत्र मानिन्छ। प्रस्तावित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल, काठमाडौ–तराई÷मधेश द्रुतमार्ग, बारा–पर्सा औद्योगिक करिडोर,  विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’, प्राकृतिक श्रोत साधन, वन जंगल, शिक्षा, स्वास्थ्य, विकास निर्माण, मिश्रीत समुदायको बसोबास, वार्षिक ५० करोड हाराहारीमा नदीजन्य पदार्थको आम्दानी लगायत कारणले यी दुई निर्वाचन क्षेत्र महत्वपूर्ण मानिन्छन्।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख निर्वाचन अधिकृत सरोजकुमार चौधरीले एउटै मतदान स्थलमा ‘क’ र ‘ख’ गरी दुई वा दुईभन्दा बढी मतदान केन्द्र रहने भएकाले मतदान स्थलको तुलनामा मतदान केन्द्रको संख्या अधिक भएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.