|

विराटनगर :  संविधानमै तोकिएको समयावधि जेठ १५ मा पनि पूर्ण बजेट नल्याउने सरकारको तयारीप्रति विराटनगरका उद्योगीले असन्तुष्टि व्यक्त गरेका छन्।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले सरकारले संवैधानिक व्यवस्था अनुसार नै समयमै पूर्ण बजेट ल्याउनुपर्ने बताए।

‘समयमै पूर्ण बजेट ल्याउनकै लागि संविधानमा व्यवस्था गरिएको हो,’ सारडाले भने, ‘सरकारले पूर्ण या आंशिक बजेट कस्तो ल्याउँछ अझै भन्न सकिने अवस्था छैन।  यद्यपि पूर्ण बजेट नल्याउँदा देशलाई नै घाटा हुन्छ।’

उनले आर्थिक विकासमा केन्द्रित गर्ने खालको पूर्ण बजेट आउनुपर्ने बताए।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भीम घिमिरेले सरकारले कर्मचारीलाई तलबभत्ता खुवाउने खालको मात्रै बजेट ल्याउने तयारी गर्नु बेठिक भएको बताए। ‘कर्मचारी, मन्त्री तथा सांसदले तलब भत्ता खाएर मात्रै देश चल्छ?’, घिमिरेले प्रश्न गरे, ‘आम नेपालीले गरेको आर्थिक समृद्धिको सपना आंशिक बजेट ल्याउँदा बाधक बन्छ।’

संविधानमै व्यवस्था भएअनुसार पूर्ण बजेट आउने आफूहरुको अपेक्षा रहेको उनले बताए। घिमिरेले बजेट पूर्ण नआए देशकै लागि दुर्भाग्य हुने बताए।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष तथा उद्योगी महेश जाजुले दलहरुले अनेक बाहानामा देशलाई अगाडि बढ्नबाट रोकेको बताए। ‘बजेट नल्याउने भए संविधानमा किन व्यवस्था गरेको?’ जाजुले भने, ‘कुरा छ समृद्धिको काम छ अधोगतिको। यसरी कसरी हुन्छ?’

समयमै बजेट ल्याउँदा समेत आधा रकम विकास खर्च हुन नसक्ने देशमा आंशिक बजेट ल्याउने कार्यले अझै समस्या थोपर्ने जाजुको भनाइ छ।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष अविनाश बोहोराले दलहरु देशको आर्थिक विकासमा गम्भीर नभएको बताए। ‘आर्थिक विकासमा केन्द्रित हुने नारा त दिए दलहरुले तर, काम त्यस अनुसार भएन,’ बोहोराले भने, ‘समयमै पूर्ण बजेट ल्याउनु आवश्यक थियो र छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.