|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले मसला (बेसार) खेतीबाट आएको रकमलाई सामाजिक क्षेत्रमा लगानी गर्दै आएको छ।

सामुदायिक वनले ३ वर्षदेखि निरन्तर रुपमा २ बिघा बढी जग्गामा मसला खेती गर्दै आएको छ। मसला खेतीबाट आएको रकमबाट गाई भैंसीको कृत्रिम गर्भाधानका लागि ९ ठाउँमा खोर निर्माण, ६० जना उपभोक्तालाई जंगली जनावरलाई भगाउन टर्चलाईट वितरण, आय आर्जनका कार्यक्रम सञ्चालन गर्न अनुदान रकम वितरण लगायत काम गर्दै आएको छ।

‘गत वर्ष सामुदायिक वनभित्र गरिएको मसला खेतीको उत्पादन १५० क्विन्टलभन्दा बढी भएको थियो‚’ सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशीले भने, ‘सुकाउन राख्दा लगातार वर्षा भएकाले उठाउन पाएनौं र कुहियो, ३० क्विन्टल जति मात्रै बेच्न पायौं।’

मसला गाउँघरमै बेच्दा ५० हजार रूपैयाँ जति आम्दानी भएको उनले बताए। त्यसको अघिल्लो वर्ष मसला बेचेर ३ लाख जति आम्दानी भएको थियो। यस वर्ष मसला बाली फस्टाउँदो रहेकाले २०० क्विन्टल जति उत्पादन हुने अनुमान गरिएको उनको भनाई रहेको छ।

‘मसला खेतीबाट आएको रकम खर्च गरेर सामुदायिक वनलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्न नर्सरी पार्क निर्माण गर्ने योजना अघि सारेका छौं‚’ अध्यक्ष जोशीले भने, ‘पार्क घुम्न आउनेहरूको सहजताका लागि पिकनिक स्पटसमेत निर्माण गर्ने योजना छ।’

उनका अनुसार सामुदायिक वनको २ बिघा १० कट्ठा जग्गा मसला खेतीका लागि स्थानीय उपभोक्ता धिरेन्द्र सिंहलाई ५ वर्षका लागि २ लाखमा लिजमा समेत दिईएको छ।

सामुदायिक वनले २ बिघा र स्थानीय उपभोक्ताले २ बिघा १० कट्टामा मसला खेती गरेको सामुदायिक वनका कोषाध्यक्ष हेमा धामीले बताए। ‘मसला (हल्दी) सुकाएर बेच्ने गरेका छौं‚’ उनले भने, ‘मसला पिस्ने मेसिन खरिद गरी प्याकिङ गरेर बढी आम्दानी हुने भएकाले त्यसबारे समेत छलफल भैरहेको छ।’

मसला बालीसँगै वनभित्र रोपिएका विभिन्न प्रजातिका बाँस बिक्री गरेर सामुदायिक वनले अतिरिक्त आम्दानी गर्दै आएको छ।

गत वर्ष मात्रै ४ लाख रूपैयाँको बाँस सामुदायिक वनले बिक्री गरेको छ। बाँस बिक्री गरेर आएको रकमबाट सामुदायिक वनको कार्यालयको गेट, चौकिदार घर, कम्प्युटर, फोटोकपी मेसिन खरिदसँगै सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्थालाई ६० हजार रूपैयाँ अनुदान रकम वितरण गरेको छ।

सामुदायिक वनले मसला खेती, बाँस, घाँस र काठ बिक्री गरेर वार्षिक रुपमा ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको छ। सामुदायिक वन १ हजार ११ हेक्टरमा फैलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.