बारा : निर्वाचन आयोगले बारा प्रतिनिधिसभा क्षेत्र नं.४ का उम्मेदवार किसान श्रेष्ठलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। वैदेशिक रोजगारीमा जाने युवाको प्री अन्तर्वार्ता भन्दै नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व श्रममन्त्री श्रेष्ठले निर्वाचन आचारसंहिताविपरित मतदाता प्रभावित पार्ने प्रयास गरेको विषयमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।
बाराका युवाहरूलाई श्रेष्ठले फ्री भिसा फ्री टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन दिएको विषयले सञ्चारमाध्यममा स्थान पाएपछि त्यसप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भईसकेका श्रेष्ठले चुनावी प्रचारमा म्यानपावर कम्पनीको प्रयोग गरेका हुन्। श्रेष्ठले परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा गएको आइतबार अन्तर्वार्ता राख्न लगाएका थिए।
इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीका प्रशासन प्रमुख विवेक शर्माले पूर्व श्रममन्त्री श्रेष्ठका स्वकिय सचिव जगत श्रेष्ठको निर्देशनमा अन्तर्वार्ता राखिएको बताए। अन्तर्वार्ता लिने स्थानमा पूर्वमन्त्री श्रेष्ठ र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलको ब्यानर राखिएको थियो। शर्माका अनुसार प्रि अन्तर्वार्तामा छनोट भएकाहरुलाई अर्को अन्तर्वार्ता लागि दुई दिनपछि काठमाण्डौ आउन तथा तीन महिनाको प्रक्रियापछि मलेसिया पठाईने बताइएको थियो।
फ्री भिसा फ्री टिकटमा मलेसियास्थित रोजगारदाता कम्पनी स्यारिकात सिन क्वङल प्लास्टिक इण्डष्ट्रिजमा रोजगारीको अवसर रहेको भन्दै इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले सात सय ५० जना कामदार माग भएको सूचना निकालेको थियो। सोही सूचनाबमोजिम निर्वाचनको समयमा उम्मेदवारको चुनावी ब्यानरमुनि अन्तर्वार्ता राखिएपछि चौतर्फी विरोध भएको हो।
अन्तर्वार्ताका लागि सर्लाही, मोरङ, सुनसरीसहित देशका विभिन्न स्थानबाट युवाहरु परवानीपुर आए पनि म्यानपावर कम्पनीले बारा क्षेत्र नं. ४ का युवाको मात्रै अन्तर्वार्ता लिने भनेपछि उनीहरु अलपत्र परेका थिए। “म्यानपावर कम्पनीको सूचनाअनुसार गयौं तर दिनभरी लाइन बसेपछि बारा ४ का युवाहरुको मात्रै अन्तर्वार्ता लिने भन्नुभयो। यसरी सूचनामा नखुलाएर हामीलाई दुःख दिइयो।” सर्लाही मलंगवाका ओजेन्द्रकुमार यादवले दुखेसो पोखे।
मोरङबाट धाएर धोका पाएका अनील कुमार माझीले पनि उस्तै गुनासो गरे।
अन्य जिल्लाबाट आएका युवालाई फर्काउँदै नेकपा एकिकृत समाजवादीका कार्यकर्ताहरु परिचालित भएर फ्रि भिसा, फ्रि टिकटमा मलेसिया लैजाने भन्दै गाँउ गाउँका युवाहरु खोजेर अन्तर्वार्तामा ल्याएका थिए। यद्यपी चुनावी अभियानका क्रममा श्रेष्ठले बेरोजगार युवालाई आफ्नै क्षेत्रमा रोजगारी दिने र रोजगारको वातावरण बनाउने बताउँदै वाहवाही बटुल्ने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।