|

बारा : बाराको त्रिवेणी स्पेनिङ मिल्स प्रा.लि.मा विहीबार अपराह्न भएको झडपमा ८ जना मजदुरसहित १० जना प्रहरी घाइते भएका छन्।

जितपुरसिमरा ९ छातापिपरा स्थित कारखानामा दशैँ बोनस माग्दै वार्तामा बसेका मजदुर र प्रहरीबीच भएको झडपमा ईलाका प्रहरी कार्यालय सिमराका डिएसपीसहित १० जना प्रहरी घाइते भएका छन् भने भगवत महतो चौहान लगायतका ८ जना मजदुर घाइते भएका छन्।

घाइतेमध्ये टाउकोमा चोट लागेका प्रहरी हवल्दार श्रीराम पटेलको गण्डक अस्पताल वीरगंज र ओठमा चोट लागेका प्रहरी जवान सुरेन्द्र महतोको अल्पाइन अस्पताल सिमरामा उपचार भैरहेको तथा बाँकी घाइते प्रहरीको अवस्था समान्य रहेको डिएसपी थापाले जनाकारी दिए।

घाइते मजदुरहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ। झडपको स्थिति नियन्त्रण गर्ने क्रममा ३४ राउण्ड अश्रुग्याँस सेल, सट गनबाट १ राउण्ड हवाई फायर भएको बारा प्रहरीले जनाएको छ।

१३ थान सिलढाल फुटेको, ९ थान बेदको लाठी भाँचिएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए। प्रहरीले ७ जना कारखाना मजदुरलाई नियन्त्रणमा लिएको छ। प्रहरीमाथि जाईलागेको तथा तोडफोडमा संलग्न रहेको भन्दै ओम प्रकाश मिश्र, सन्जय कुमार यादव, मनोज यादव लगायतका ७ जना मजदुरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

पाउने गरेकै बोनस मागेका हौँ : मजदुर 

सधैँ झैँ दशैँ आयो तर यसवर्ष बाराको जितपुरसिमरा ९ छातापिपरा स्थित त्रिवेणी स्पेनिङ मिल्स प्रा.लि.का मजदुरको दशैँ बोनस आएन। करिब एक हजार ६ सयको संख्यामा रहेका मजदुरले पटकपटक माग गर्दा पनि सुनुवाइ नभएपछि बुधबार साँझ बाध्य भएर उनीहरुले सिइओलाई कार्यकक्षमै रोके।

कारखानाको काममा बाधा नहुने गरी अफ ड्युटीका मजदुरहरुले दशैँ बोनसबारे ठोस जवाफ दिन आग्रह गर्दै सिइओलाई व्यवस्थापनसँग सोध्न भने। साँझ प्रहरीकै रोहबरमा वार्ताको प्रयास भएपनि निष्कर्ष निस्केन।

प्रहरी फर्कियो। विहीबार पुनः बार्ताका लागि प्रहरी प्रशासन, कारखाना प्रशासन, मजदुर नेता जम्मा भए। मजदुर नेताले बोनसका लागि कति समय लाग्छ त्यो तोक्न तथा तत्कालका लागि पेस्की स्वरुप केही रकम दिएर पर्व मनाउन सहज बनाइदिन भनेपछि सिइओ व्यवस्थापनसँग कुरा गर्छु भन्दै फोन गर्न अर्को कोठामा गएर निकै बेर हराए।

सिइओलाई बोलाउन तथा के भयो बुझ्न प्रशासनका दुई जनालाई पठाएको अवस्थामा बाराका प्रहरी उपरीक्षक होविन्द्र वोगटीसहितको प्रहरी टोली वार्ताकक्ष छिर्न खोज्दा भीडभाडमा भएको धक्कालाई आइलागेको संज्ञा दिएर प्रहरी मजदुरमाथि खनियो। स्थिति तनावग्रस्त बन्यो। दोहोरो झडप भयो।

सो क्रममा दुवैतर्फका गरी दर्जन बढी घाइते भए। स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ राउण्ड अश्रुग्याँस प्रहार गर्‍यो। अन्ततः काम नरोकी सौहार्दपूर्ण रुपमा खाइपाई आएको बोनस सुविधा मागेको हकहितलाई सिइओ लगायतको व्यवस्थापनका ५ जनालाई मजदुरहरुले बन्धक बनाएको आरोप लगाइएको मजदुर पक्षको आरोप छ।

बन्धक बनाएको विषय झुटो हो–मजदुर नेता

कारखानामा मेशिन चलिरहेकै थियो। ड्युटीका मजदुर धमाधम उत्पादनमा जुटेका थिए। अफ ड्युटीका मजदुर एकातिरबाट भेटिएका चिजले हान्दै थिए।

अर्कोतिर प्रहरी प्रतिकारमा जुटेको थियो। काम नरोकी बोनसको माग गर्दै सिइओलाई मात्रै कार्यालयमा रोकेर निकास खोज्दा भएको प्रहरी दमनले मजदुरहरुलाई हाथापाईका लागि उक्साएको दावी गर्छन् वार्तामा सहभागी अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय सचिवालय सदस्य एवं मधेश प्रदेश सह इन्चार्ज मीन प्रसाद आपागाईं।

​​उनले मजदुरमाथि बल प्रयोग गर्नु र प्रतिकार गर्दा नियन्त्रणमा लिनु दुवै गलत भएको टिप्पणी गरे।

वार्तास्थल बाहिर शान्तिपूर्ण बसेका बेला पुरुष प्रहरीले कपडा समातेर तान्दै बाहिर निकालेको भन्दै रुँदै गरेकी अनिता भ्लोनलाई सम्हाल्दै गरेकी सिकिन्द्र कुमारी चौधरीले भनिन्, 'चाडपर्व मनाउने खर्च माग्दै गरेका हामी जस्ता गरिबमाथि प्रहरीले ज्यादती गर्‍यो, मेरो कपाल समातेर तान्दै हाथापाई गर्‍यो।

गरिबलाई बोनस सुविधा नदिएर कम्पनीले गरेको ज्यादती बन्द गर्नुको सट्टा प्रहरीले उल्टै मजदुरलाई कुट्नुलाई कसरी बुझ्नु ? भन्दै उनले प्रतिप्रश्न गरिन्।

मजदुर महिलामाथि पुरुष प्रहरीबाट भएको लछारपछारले स्थिति झडपमा परिणत भएको बताउँदै अखिल नेपाल औद्योगिक मजदुर संघको केन्द्रीय अध्यक्ष वेनी प्रसाद तिमल्सिनाले भने, 'उद्योगले मजदुरको उचित माग पूरा गर्नैपर्छ, हामी वार्ता गरेर समाधानमा जुट्दै थियौँ यस्तोमा प्रहरीबाट दमन हुनु गलत थियो र सिइओलाई बन्धक बनाएको विषय सरासर गलत हो, नियमित कारखाना संचालन गरेर जायज माग पूरा गराउन गरेको पहललाई गलत रुपमा चर्चा गराउने व्यवस्थापनको रवैया पाच्य छैन।'  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.