|
प्रतीकात्मक तस्विर

काठमाडौं : नुवाकोटमा गएराति ३ वटा पसलमा आगलागी भएको छ। 

शिवपुरी गाउँपालिका–८ मा आगलागीबाट तीन वटा घर र ती घरमा सञ्चालित पसलका सामग्री जलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रूपक खड्काले जानकारी दिए। उनका अनुसार सत्तरीको डिल भन्ने स्थानमा विजय थापाको फ्रेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र  विजय थापाको हार्डवेयर पसलसमेत फैलिएर सामग्री जलेर नष्ट भएका छन्।

आगलागीबाट दुई करोडभन्दा बढीको क्षति पुगेको छ। थापा दाजुभाइको तीनवटा घरसहित ती घरमा सञ्चालित पसलका सामग्री, घरमा रहेको नगद, सुनचाँदी, लत्ताकपडा, भाडावर्तन अधिकांश जलेर नष्ट भएकाले प्रारम्भिक अनुमानमा दुई करोड २० लाख बरारबको क्षति भएको देखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

प्रहरी प्रवक्ता खड्काका अनुसार सम्पत्ति क्षतिको यकिन तथ्यांकमा त्योभन्दा बढी समेत हुनसक्छ। राति पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी, सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो । आगो लाग्नुको कारण नखुले पनि विद्युतीय गडबडी भएको हुनसक्ने पीडित विजय थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.