पर्वत : हरिबोधिनी एकादशीलाई तोरण तार्ने दिनका रूपमा पनि लिने गरिन्छ। २-३ दशक अगाडिसम्म जिल्लामा ‘तोरण तार्ने’ लाई ठूलो उत्सवका रूपमा लिने गरिन्थ्यो।
हरिबोधिनी एकादशीको दिनमा गाउँ–गाउँबाट जन्तीले झैँ काँधमा डोला बोकेकाहरू हिँडेका देखिन्थे। उनीहरूको गन्तव्य पवित्र कालीगण्डकी हुन्थ्यो।
जिल्लाको कुश्मा नगरपालिका–५ मोदीबेणीमा रहेको मोदीबेणीधाम हुँदै बग्ने कालीगण्डकी नदी तारेर ‘तोरण’ तारिन्थ्यो। वारिपट्टि पर्वत र पारिपट्टि बागलुङको किनारमा बाबियोका मोटा लट्ठामा फूल माला उनेको ‘तोरण’ तार्न कालीगण्डकी नदी पौडेरै वारपार गर्नेहरू भेटिन्थे।
आजभोलि ‘तोरण’ तार्ने गरेको खासै भेटिँदैन। पछिल्लो पुस्तालाई त कालीगण्डकी तरेर ‘तोरण’ तारिन्थ्यो भन्दा पनि विश्वास लाग्दैन तर तीन जिल्लाको संगमस्थल तथा जिल्लाकै उच्च स्थानमा रहेको पञ्चासेको तालमा भने विगत चार वर्षदेखि ‘तोरण महोत्सव’ हुँदै आएको छ। तोरणको महत्त्व हराउन नदिन तथा संस्कृतिलाई निरन्तरता दिन एकदिने महोत्सव आयोजना हुने गरेको हो।
यो वर्ष पनि यही कात्तिक १८ गते हरिबोधिनी एकादशीको अवसरमा पञ्चासे तालमा ‘तोरण महोत्सव’ आयोजना गरिएको छ।
पञ्चासे बुद्ध बिहार साहिस्वाँरा र राधाकृष्ण सुदामा मन्दिरको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो। समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा रहेको पञ्चासे तालको वारपार गर्ने गरी बाबियोबाट बनाइएको ‘तोरण’ तार्ने र सोही अवसरमा भजन चुड्का सहितका सांस्कृतिक कार्यक्रम राखेर महोत्सव आयोजना गरिएको राधाकृष्ण सुदामा मन्दिर सञ्चालक समितिका सचिव लक्ष्मण शर्माले बताए।
‘पहिले पहिले मोदीबेणीधाममा तोरण तार्नेहरूको भीड हुन्थ्यो। गण्डकीको किनारमा हजारौँ जम्मा भएर वारिको तोरण पारी किनारमा लगिन्थ्यो। पौडीबाजहरूले ढाडमा तोरण बाँधेर पौडिएरै गण्डकी तरेर पारी लगेर बाँध्थे, ‘शर्मा भन्छन्, ‘बिस्तारै यो हराउँदै गयो। मोदीबेणीमा तोरन तारेको देख्न पाइएको छैन तर यो लोप हुनु हुँदैन भनेर हामीले अहिले पाँचौँपटक तोरण महोत्सव आयोजना गरेका छौँ।’
पञ्चासे बुद्ध बिहारको विशेष पहलमा हुन लागेको महोत्सवमा पर्वतका विभिन्न स्थानका भक्तजन सहित कास्कीको अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका, स्याङ्जाको आँधीखोला गाउँपालिका, फेदीखोला र गाउँपालिका र पुतलीबजार नगरपालिका सहित गुल्मीबाट पनि दर्शक तथा भक्तजनहरू आउने गरेका छन्।
बालाचतुर्दशीमा भक्तजनको बढी भीडभाड हुने गरेको पञ्चासे पर्यटकीय हिसाबले पनि आकर्षणको केन्द्र हो। कुनै काम पूरा होस् भनी गरिएको भाकल पूरा हुने तथा पञ्चासेमा पूजा गरेपछि दिवङ्गत आत्मले मुक्ति पाउने विश्वास छ।
सुनसान जङ्गलको बीचमा रहेको तालको वरिपरि रूखहरू छन्। ती रूखबाट खसेका हरेक पात चराचुरुङ्गीले नै निकालेर ताल सफा राखिरहन्छन्। तालभन्दा माथि २५ मिटरभन्दा बढीको उचाइमा रहेको पञ्चासे मन्दिर धर्मावलम्बीहरूका लागि अर्को आकर्षण हो।
बालाचतुर्दशीमा सतबीउ छर्दा तालदेखि मन्दिरसम्म नै मानिसको घुइँचो लाग्ने गरेको छ। सुदामा मन्दिर सञ्चालक समितिका सचिव शर्माका अनुसार विगतको बालाचतुर्दशीमा झन्डै एक लाख भक्तजन आएको अनुमान गरिएको पञ्चासेमा हरिबोधिनी एकादशीमा पनि झन्डै त्यति सङ्ख्यामा भक्तजन आउने अनुमान गरिएको बताए।
गत वर्ष वर्षाको प्रभाव नरोकिएका कारण बालाचतुर्दशी र हरिबोधिनी एकादशी दुवै दिन भक्तजनको सङ्ख्या कम भएको थियो। त्यो अगाडिका दुई वर्षमा कोभिड–१९ सङ्क्रमणका कारण श्रद्धालुको चहलपहल कम भएको थियो। तर यो वर्ष वर्षा रोकिएको कोभिडको जोखिम पनि त्यति धेरै नभएकाले पदयात्रा गर्दै जाने बाह्य पर्यटक तथा सवारीबाट पुग्ने आन्तरिक पर्यटक दुवैको उपस्थिति बाक्लो रहने विश्वास स्थानीय बासिन्दाको छ।
कास्कीको पोखरा महानगरपालिकाको पामे–घाँटीछिना हुँदै भञ्ज्याङदेखि आर्थरसम्म जोडिने सडक भने अहिलेसम्म पनि सञ्चालनमा नआउँदा पोखराबाट पञ्चासे आउने पर्यटक तथा धर्मावलम्बीलाई समस्या भइरहेको स्थानीय बासिन्दा बताउँछन्।
पर्वतको कुश्मा हुँदै पनि जान सकिने भएकाले सडकलाई सहज बनाउन कुश्मा नगरपालिका र पोखरा महानगरपालिका दुवैले चासो दिनुपर्ने स्थानीय विश्वास गुरुङ बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।