|

दमक : आफ्नो चुनाव प्रचारप्रसार सामग्री प्रहरी प्रशासनले सुरक्षा गर्न नसकेको भन्दै नेकपा माओवादी केन्द्र दमक नगर समितिले प्रचार सामग्रीको सुरक्षाका लागि वाइसिएल परिचालन गर्ने जनाएको छ। उसले चुनावको प्रचारका लागि दमक चोकमा राखेको झण्डा र ब्यानर च्यातेको भन्दै सुरक्षाका लागि वाइसिएल परिचालन गर्ने भएको हो।

माओवादी केन्द्रले सोमबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै आफ्नो जित निश्चित देखेर विपक्षहरुले आफ्ना झन्डा तथा प्रचार सामग्री च्यातेको दाबी गरेको छ। नेकपा माओवादी केन्द्रबाट दमक नगरपालिकाको प्रमुखका उम्मेदवार रेवतराज पुरी गगनले आइतबार राति मात्र दमक चोकमा राखेको ३ सय बढी झन्डाहरु विपक्षीले च्यातेको बताए।

उनले भने, ‘हाम्रो पक्षमा दिन प्रतिदिन विजयको लहर देखेपछि पराजयको मानसिकता बोकेका अराजनीतिक तत्वहरुले हाम्रो प्रचार सामग्री च्याते, यो सह्य छैन।’ पत्रकार सम्मेलनमा बोल्दै पुरीले प्रहरी प्रशासनले समेत सुरक्षा दिन नसकेको बताए। उनले भने, ‘प्रहरी प्रशासनले हाम्रो प्रचार सामग्रीको सुरक्षा दिन सकेन, अब हामी यसको आफैं सुरक्षा गर्छौँ, त्यसका लागि वाइसिएल परिचालन गर्छौं।’ उनले थपे फेरि पनि यस्ता गतिविधि गरेमा मुठभेडको स्थिति नै आउन सक्ने बताए।

उनले भने, ‘अराजक तत्वलाई तत्काल नियन्त्रणमा लिई कारबाही गरी प्रहरी प्रशासनले पूर्ण सुरक्षाको प्रत्याभूति दिलाइदिनुपर्छ, होइन भने मुठभेडको स्थिति पनि आउन सक्छ।’

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका चुनाव प्रचारप्रसार संयोजक सुरेन्द्र बस्नेतले आफूहरुले झन्डा र ब्यानर च्यात्ने मान्छे चिनेको र उनीहरुलाई प्रमाण फेला पारेर ठीक लगाउने चेतावनी दिए।

निर्वाचन आचारसंहिताको विषयमा पहिला अरुले नै मिचेको पुरीले दाबी गरे। उनले भने, ‘हामीले पनि दमकलाई कुरुप बनाउन नचाहेका हौं, तर अरु दलहरुले नै हामीलाई सिकाएका हुन्, केपी ओलीजीले नै हामीलाई सिकाउनुभएको हो, उहाँको मेची–महाकाली अभियानका क्रममा लगाएको झण्डाहरु अझै निकाल्नु भएन त्यसैले हामीले पनि लगाएका हौं।’

आफूहरुलाई निर्वाचन आयोगले केही नभनेको उनले बताए। उनले भने, ‘हामीलाई निर्वाचन आयोगले केही भनेको छैन, आचारसंहिता उल्लंघन भयो भनेर भन्यो भने हामी त्यहीअनुसार अघि बढ्छौं, तर गुण्डागर्दी शैलीमा हाम्रो झन्डा र ब्यानर च्यात्न पाइँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.