|

डडेल्धुरा : जेठ ३१ गतेका लागि निर्धारण गरिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता डडेल्धुराका राजनीतिक दल तथा सरोकारवालाहरुले जनाएका छन्।

जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले मंगलबार जिल्ला सदरमुकाममा आयोजना गरेको सरोकारवालाहरुसँगको अन्तरक्रियामा राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष मान बहादुर सावदले स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनमा राजनीतिक दलहरुले आचार संहिताको पालना गरेर चुनावी प्रचार–प्रसार गर्नुपर्ने बताए।

उनले निर्वाचनमा हुन सक्ने अप्रिय घटनाहरुलाई न्युनिकरण गर्नको लागि सुरक्षा व्यवस्था राम्रोसँग मिलाउन प्रहरीलाई सुझाव दिए। उनले जिल्लाका सम्पूर्ण पत्रकारहरुलाई सही सूचना सम्प्रेषण गर्न सुझाव दिए।

कार्यक्रममा राजनीतिक दलहरुका तर्फबाट बोल्दै नेकपा माओवादी केन्द्रका नेता करुणाकर ओझाले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्नुपर्ने बताए। उनले डडेल्धुरामा स्थानीय तह निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्लाका राजनीतिक दलहरु प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

अन्तरक्रिया कार्यक्रमका सभापति तथा मुख्य निर्वाचन अधिकृत देव कुमार गिरीले यसअघि भएका निर्वाचनभन्दा स्थानीय तहको निर्वाचन फरक भएको बताए। यो निर्वाचनलाई धाधँलीरहित वातावरणमा सम्पन्न गराउन सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने उनले बताए।

उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धेरै मत बदर भएकाले मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने धारणा राखे।

दुई नगरपालिका र पाँच गाउँपालिका भएको डडेल्धुरा जिल्लामा ७५ हजार ७ सय ८०  जना मतदाता रहेका छन्।  ७७ मतदान स्थल  र ११०  वटा मतदान केन्द्र निर्वाचन आयोगले यसअघि नै निर्धारण गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.