पाल्पा : एउटा स्वामीको रुख। त्यसको फेदमा भत्किएको चौपारी। त्यही चौपारीमा रहेको एउटा ढुंगामाथि बसिरहेका वृद्ध।
कपाल सेतै फुलेको छ। गाला चाउँरी परेका छन्। दाँत सबै झरेका छन्। च्यातिएको दौरा सुरुवाल, उध्रिएको ढाका टोपी पहिरिएका। हँसिलो अनुहार तर मनभरी कुण्ठा। उनी हुन रैनादेवी छहरा गाउँपालिका–१ सिद्देस्वरस्थित साउनेका सय वर्षीय हिराबहादुर पुन।
भोट माग्न उम्मेदवार आउँदै छन् भन्ने खबर पाएका उनी लौरो टेकेर सकिनसकी चौपारीसम्म पुगे। उम्मेदवारलाई भोटको चिन्ता थियो, हिराबहादुरलाई खानेपानीको।
त्यहाँ पुगेका नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुरप्रसाद गैरेले आर्शिवादसँगै भोट मागे। हिराबहादुरले भने आर्शीवाद दिए तर सँगसँगै खानेपानी मागे।
गाउँतर्फ औंलाले देखाउँदै भने, ‘म सय वर्षको भएँ। मैले जानेको सय वर्षसम्म यहाँ खानेपानीको धारा आएको छैन्।’ आफूले सानो केटाकेटी उमेरदेखि खाँदै आएको कुवाबाट अहिले पनि डोकोमा गाग्री बोकेर पानी ल्याउन परिरहेको छ।
खानेपानीको अभावले भात खाएको जुठो हात कपडाले पुछेर बस्नुपरेको त्यो विगत उनले सम्झिए। ‘कुवा टाढा थियो। कुरेर ल्याउनु पर्ने थियो। अलिकति पानी खानलाई गाग्रीमा राख्नै पर्ने’, उनले भने, ‘हात धोए सकिन्छ। बचाउँनका लागि कपडाका थाउनाले जुठो हात पुछेर बसिन्थ्यो।’
अहिले पनि अवस्था उस्तै छ। उनी थप्छन् ‘मैले भोट दिएका उम्मेदवारले कयौं पटक जिते तर गाउँमा खानेपानी आएन।’ यसअघि पनि भोट माग्न आएका उम्मेदवारले खानेपानीको धारा ल्याइदिन्छौ भनेका हुन्। तर गएपछि नफर्किएको उनले गुनासो गरे।
छिमेकी गाउँबाट पाइपमा खानेपानी ल्याउने काम भयो। गाउँमा धारा पनि बनाइए। अहिले महिनाको ३-४ पटक मात्रै पानी आउँछ। त्यही पनि एक घरपरिवारले बल्लबल्ल २ गाग्री पानी भर्न पाउँछन्। यसअघि बनेका धारापनि अहिले भत्किन थालका स्थानीय ६४ वर्षीय गंगाबहादुर सोमैले गुनासो गरे। अहिले पनि २ घण्टा समय खर्चेर मोहरे पँधेरबाट डोकोमा पानी बोकेर खान परिरहेको छ। चैत, बैशाख महिनामा कुवामा पानी भर्नेको लाइन हुन्छ।
एक गाग्री पानी भर्न एक घण्टा कुर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। गाउँमा युवा छैनन्। वृद्धवृद्धाले पानी बोकेर खान सक्दैनन्। खानको लागि पानी जसोतसो ल्याइन्छ। तर पशुचौपायलाई खुवाउन समस्या छ। जहाँ पानी जमेको पोखरी छ। त्यहीँ ठाउँमा पशुचौपायलाई लगेर पानी खुवाउने गरेका छौं। त्यही कामको लागि घरमा एक जनालाई दिनभर समय छुट्याउन पर्छ।
साउनेकै अर्को टोलकी निमा दर्लामीको चिन्ता पनि खानेपानीकै छ। घरमा सवारी दुर्घटनामा परेर अपांग बनेका छोरा छन्। सम्पूर्ण घरायसी कामसँगै उनको स्याहार गर्नुपर्छ। गाउँभन्दा तल आमखोलामा पानीको कुवा छ।
एक गाग्री पानी ल्याउन २ घण्टा समय लाग्छ। खडेरी महिनामा कुवामा पानी भर्नका लागि २ घण्टा कुर्नुपर्ने निमाले सुनाइन्। नुहाउन धुन अझै बढी समस्या छ।
साउनेमा सय बढी घर परिवार छन्। अधिकांश जनजाती समुदायका छन्। भौगोलिक हिसाबले अत्यन्तै विकट छ। यहाँ खानेपानीको चरम अभाव छ।
आकाशे ट्यांकीको भरमा
यहाँका मानिस अहिलेपनि आकाशे ट्यांकीको भरमा छन्। आकाशे पानी केही समय उपभोग गरेपछि सकिन्छ। २०५९ सालभन्दा पहिला ग्रामिण खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत फिनल्याण्ड सरकारको सहयोगमा यहाँ आकाशे ट्यांकी निर्माण भएका थिए।
तीन चरणमा योजना सम्पन्न भएको स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र पाल्पाका प्रबन्ध निर्देशक रामबहादुर राउतले बताए। केन्द्रले यसको समन्वय गरेको थियो। अहिले यी ट्यांकी जीर्ण बन्दै गएको स्थानीय गंगाबहादुर सोमैले बताए। कुनै पनि सरकारले यसको मर्मत गर्न सहयोग नगरेको उनको गुनासो छ।
मराम्दी चिसापानी खानेपानी आयोजना अलपत्र
१० वर्ष हुँदासमेत मराम्दी चिसापानी खानेपानी आयोजना सम्पन्न भएको छैन। समयमै आयोजना सम्पन्न नहुँदा यहाँका उपभोक्ता खानेपानीबाट बञ्चित भएका हुन्। राजनीतिक लडाइँका कारण आयोजना अलपत्र परेको यहाँका उपभोक्ताको गुनासो छ।
राजनीतिक आस्था फरक भएकै आधारमा आयोजनाको काम सम्पन्न नभएको स्थानीय युवा हुमबहादुर रेश्मीले बताए। ‘यस टोलका मानिस एमालेमा आस्था राख्ने छन्। सिंगो वडामा नेकपा माओवादी केन्द्रको वर्चश्व छ’, उनले भने, ‘खानेपानीमा राजनीति नगरे हुन्थ्यो।’
लिफ्टिङ खानेपानी आयोजना हो। ट्यांकी निर्माण भइसकेको छ। पाइपसमेत विछ्याउने काम सम्पन्न भएको रेश्मीले बताए। सबै राजनीतिक दलहरू मिलेर गाउँको विकास गर्नुपर्छ। निर्वाचनपछि जितेर जाने उम्मेदवारले सहयोग गरेर खानेपानी ल्याइदिए यहाँका जनतालाई ठूलो राहत मिल्ने रेश्मीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।