सल्यान : प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न उम्मेदवारदेखि नेता कार्यकर्ता घरदैलो अभियानमा व्यस्त छन्।
चुनावी सभालाई व्यवस्ता गर्दै उम्मेदवारहरु जनभेटघाटमै व्यस्त हुन थालेका छन् । भोट माग्न उम्मेदवार गाउँमा पस्दा युवाहरु भने वैदेशिक रोजगारीमा जानका लागि जिल्ला प्रशासन कार्यालय सल्यानमा राहदानी बनाउन लाइनमा बसी रहेका छन्।
जिल्लाको विकास र समृद्धिका लागि युवाको महत्वपूर्ण भूमिका हुन्छ। निर्वाचनको संघारमा जिल्लाको नेतृत्व सम्हाल्न अगाडि आउनुपर्ने युवा भने खाडी राष्ट्रमा पसिना बगाउन जानको लागि जिल्ला प्रशासन कार्यालयको परिसरमा राहदानी बनाउने लाइनमा छन्। ‘जिल्लाको लागि यो सबैभन्दा ठूलो दुर्भाग्य हो’ स्थानिय नरेन्द्र वली भन्नुभयो । उहाँले युवा पलायन रोक्न तीनै तहको सरकारले प्रभावकारी योजना बनाउन नसकेको बताए।
निर्वाचनको समयमा युवाहरुलाई रोजगारीको आश्वासन दिने गरेको भएपनि युवा पलायनलाई रोक्ने प्रभावकारी उपाय नेता र उम्मेदवारले अघि सार्न नसकेको युवाहरुको भनाइ छ। ‘राजनीतिक दल र उम्मेदवारका घोषणापत्रमा समेत युवा पलायनलाई रोक्ने स्पष्ट योजना छैन्, जबसम्म राज्य ठोस र प्रभावकारी योजनासहित अगाडि आउँदैन्, तबसम्म हाम्रा गाउँघर युवाविहीन रहने निश्चित छ’ राहदानी बनाउन आएका त्रिबेणीका देवराज थापाले भने।
उनका अनुसार युवावर्ग समय र समाज सँगसँगै अगाडि बढेका हुन्छन्। उनीहरूमा विकास र परिवर्तनको चाहना पनि बढी हुन्छ। ‘देश विकासका लागि त युवा नै राजनीतिमा आउनुपर्छ तर हाम्रो विडम्बना, देश चलाउने नेता छान्नसमेत युवा गाउँघरमा छैनन्’ उनले भने, ‘निर्वाचनको मुखमा राहदानी बनाउन आउनु यो हाम्रो रहर होइन, बाध्यता हो।’
‘देश बनाउनुपर्ने युवा खाडीमा छन्, जोस जाँगर सकिएका प्रौढहरू देश चलाउने नारा बोकेर मत माग्न घर–घर चहार्दै छन्, गाउँघरमै भएका केही युवा पनि विरक्तिएर बसेका छन्, यही हो, हाम्रो गाउँको यथार्थ’ कपुरकोटका रोषण घर्ती भन्छन्, ‘यो निर्वाचनमा मत खसाल्न त बूढापाका र महिला मात्र गाउँघरमा छन्।’
‘तपाइँहरू पालैपालो देश हाँक्नुहुन्छ तर, यहाँका युवाले किन रोजगारी पाउन सकेनन् ? जिल्लामा किन एउटा पनि उद्योग स्थापना हुन सकेन ? गाउँघरमा बाँकी रहेका युवाले तपाइँहरूलाई भोट किन दिने ?’ उनी प्रश्न गर्छन्।
अर्का युवा झक्कु बस्नेतले राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा स्वदेशमै रोजगारीदेखि युवाहरूलाई लक्षित गर्दै कार्यक्रम समावेश गरे पनि ती कार्यक्रम र प्रतिबद्धताले भने विदेश जाने युवाहरूलाई समेट्न नसकेको बताए। ‘यहीँ केही गरौँ भनेको त हो नि, तर केही भएन, हातमा सर्टिफिकेट बोकेर धेरै ठाउँ धाएँ, नेताहरूको पछि पनि लागे उपलब्धि केही भएन,’ उनले भने ‘आखिर विदेश नै रहेछ हामी जानुपर्ने, यहाँ पसिना बगाउने वातावरण भएन, विदेश जानुको अर्को विकल्प जिल्लामा भेटिएन।’
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाबाट २ हजार १ सय ६७ जनाले राहदानी बनाएका छन्। यस्तै सोही आर्थिक वर्षको फागुनसम्म दु्रत सेवाका लागि १ हजार ९ सय ६५ जनाले सिफारिस लिएका छन्। चालु आर्थिक वर्षको हालसम्ममा विद्युतीय राहदानीका लागि फारम बुझाएका २ हजार ३ सय २० जना मध्ये हाल सम्म १ हजार ६ सय ९७ जनाले विद्युतीय राहदानी लिएका छन्।
यस्तै पहिले लिन छुटेका ४५ जनाले राहदानी लिएका छन्। यसबाहेक गाँस, बास र कपासको जोहो गर्न छिमेकी राष्ट्र भारतका विभिन्न शहरमा भौंतारिइरहेका युवाको संख्यासमेत जोड्दा तथ्यांक अझ गम्भीर छ।
विगतका तुलनामा पछिल्लो समय विदेश जानको लागि राहदानी बनाउन आउनेको संख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले दैनिक करिब ५० जना युवायुवति राहदानी बनाउनको लागि आउने गरेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।