|

बाँके : मतदानका लागि भारतबाट नेपाल आएका मतदाताहरु कामका लागि भारत फर्किन थालेका छन्। निर्वाचन सकिएपछि पहाडी तथा हिमाली जिल्लाका दैनिक ७ सयदेखि एक हजार जना नेपाली भारत जाने गरेको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिए।

काम छोडेर मतदानका लागि मात्रै आएका नेपालीहरु निर्वाचनका परिणाम सुनेर पुनः भारत फर्किन थालेको उनले बताए। 'निर्वाचन अघि कामका लागि भारत जानेको संख्या एकदमै न्यून थियो, निर्वाचनपछि हुलका हुल नेपाली कामका लागि विभिन्न ठाउँमा जान थालेका छन्,’ उनले भने।

भारतबाट आउनेभन्दा नेपालबाट भारत जानेको संख्या धेरै रहेको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ। निर्वाचन अघि नेपाल आउने धेरै थिए अहिले भारत जाने धेरै छन्,’ इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज सई खड्काले भने,‘भोट हालेर भारत जानेमा सुर्खेत, सल्यान, रुकुम, दैलेख, जाजरकोट, जुम्ला लगायत जिल्लाका छन्।’

मतदान गरेर भारत फर्किदै गरेका नेपालीले यसपालीको निर्वाचन उत्साहजनक रहेको प्रतिक्रिया दिए। आफूले भोट हालेका अध्यक्षका उम्मेदवारले नजिते पनि आफ्नै गाउँ-ठाउँको उम्मेदवारले जितेकाले कुनै दुख नलागेको सिंजा गाउँपालिका–५, जुम्ला स्थायी घर भएका हरिबहादुर रोकायले बताए। ‘जुन उद्देश्य लिएर मतदानका लागि काम छोडेर नेपाल आएको थिएँ त्यो पूरा भयो, अब पुनः कामका लागि भारत फर्किदैछु,’ बुधबार नेपाल–भारत सीमानाका जमुनहामा भेटिएका रोकायले भने। उनीसँगै २१ जनाको समूह कामका लागि भारतको सिम्ला कुल्लुतर्फ गएको छ।

जमुनहा नाका हुँदै भारतको चण्डीगढ जाँदै गरेका जुनी चाँदे गाउँपालिका–९, जाजरकोटका भुप बहादुर बस्नेतले भोट हालेर भारत फर्किन लागेको बताए। उनले आफ्नो मान्छेलाई जिताउन काम छोडेर नेपाल आएपनि सफल नभएको बताए। भारतबाट आएर प्रचार प्रसार समेत गरेका उनले आफूले चाहेको व्यक्ति पराजित भएको बताए । ‘गाउँको विकास गर्ने व्यक्तिलाई जिताउन भारतबाट आइयो, तर सफल भइएन, जसले जितेपनि आफ्नै गाउँ-घरकाले जितेका छन्,’ उनले भने।

बस्नेतसँगै जुनी चाँदे गाउँपालिका–९ का रुपलाल लुहार पनि चण्डीगढ फर्किएका छन्। मतदानका लागि मात्र नेपाल आएको उनले बताए। उनले यसपटकको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था राम्रो भएको बताए।'आफूले चाहेको व्यक्तिलाई निर्धक्कका साथ मतदान गर्ने व्यवस्था थियो, यसपालीको निर्वाचन मलाई अघिको भन्दा राम्रो लाग्यो,’ सुनारले भने।

भेरी गंगा नगरपालिका–९, झिलमिले सुर्खेतका प्रेम पुरी पनि १२–१३ जनाको समूहसँगै भारतको लुधियाना फर्किएका छन्। चुनावी अभियान पूरा भएपछि भारत फर्किन लागेको उनले बताए । ‘जे कामका लागि आएको थिए त्यो पूरा भयो, अब कामका लागि भारत फर्किन थालेको छु,’ पुरीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.