|

बारा : बारामा ६६ दशमलव ८६ प्रतिशत मतदान भएको निर्वाचन कार्यालय बाराले जनाएको छ।

४ लाख ३३ हजार ५०५ मतदातामध्ये २ लाख ८५ हजार ८४१ जनाले मतदान गरेका छन्। जसमध्ये १ लाख ५२ हजार ६४ जना पुरुष, १ लाख ३३ हजार ७७६ जना महिला र १ जना अन्यले मतदान गरेको निर्वाचन कार्यालय प्रमुख सरोज चौधरीले जानकारी दिए।

जिल्लाका ३०५ मतदान केन्द्रबाट सम्बन्धित मतगणना केन्द्रमा मतपेटिका संकलनसमेत भैरहेको छ। केही बेरमा सबै केन्द्रमा मतपेटिका पुगिसक्ने र मतगणना आजै शुरु गर्ने तयारी भएको उनले बताए।

जिल्लाको ४ क्षेत्रमध्ये १ को सिम्रौनगढ, २ को वरियारपुर, ३ को कलैया र ४ को सिमरामा मतगणना हुनेछ। ‘जतिसक्दो छिटो मत परिणाम आउने गरी मतगणना चुस्त बनाईएको छ,’ चौधरीले भने।

निर्वाचनका क्रममा बारा क्षेत्र १ (ख) अन्तर्गत सिम्रौनगढ नगरपालिका-१ देवापुरस्थित मतदान केन्द्रमा ७४ वटा प्रदेशसभा समानुपातिक मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा खसेपछि विवाद भएको थियो।

विवादबीच केही बेर मतदान रोकिए पनि नेपाली सेनाको सहजीकरणमा राजनीतिक दलहरू र मतदान अधिकृतबीचको सहमतिपछि पुनः केही बेरमै मतदान फेरि शुरु भएको थियो।

‘उक्त बाकसलाई छुट्टै शिल गरी दुवै मतलाई मान्यता दिने सहमति भएको दलहरूले विज्ञप्तिमार्फत जानकारी गराईसकेका छन्,’ चौधरीले भने। महागढीमाई नगरपालिकाको एक मतदान स्थलमा समेत मतपेटिकाको विषयलाई लिएर केही बेर विवाद भएको स्थानीयले बताएका छन्।

प्रयोगमा रहेको मतपेटिका फुटेको पाईएपछि विवाद भएको हो तर सबै प्रतिनिधिको रोहबरमा लगत्तै अर्को पेटिका झिकाई पुनः मतदान शुरु भएको थियो।

छिटपुट घटनाबाहेक बारामा समग्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको निर्वाचन कार्यालय प्रमुख चौधरीले जानकारी दिए। मतदान कहीँ कतै लामो समय स्थगन नभएको उनले बताए।

निर्वाचनका लागि बारामा ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका थिए। निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए।

मतपेटिका संकलन भैरहेको र सबै मतपेटिका केन्द्रमा आइपुगेपछि सर्वदलीय बैठक बसेर मतगणना शुरु हुन्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.