|

पोखरा: नेपाली कला, साहित्य र सङ्गीतको विकास र बिस्तारमा सक्रिय सामाजिक संस्था जरा फाउण्डेशन नेपालको पहलमा शनिबार पोखरामा गजलको विशेष कार्यक्रम हुने भएको छ।

‘गजलको उत्थान, हाम्रो प्रण’ भन्दै नेपाली गजलको विकासको लागि पोखरामा क्रियाशील संस्था गजल सन्ध्या पोखरा र जरा फाउण्डेशन नेपालको संयुक्त आयोजनामा जेठ १३ गते शनिबार पोखरामा विशेष गजलवाचन तथा गजल परिचर्चा कार्यक्रम राखिएको फाउण्डेशनका महासचिव कवि एवं समालोचक महेश पौड्यालले जानकारी दिए।

पोखराको पार्दीमा रहेको नेपाल पर्यटन बोर्डको साभाकक्षमा शनिबार दिउँसो १२ बजे   'गजल सङ्गम'मा 'नेपाली गजलः विकास र बिस्तार' शीर्षकको गजल परिचर्चामा डा. घनश्याम परिश्रमी, दीपक समीप र घनेन्द्र ओझाले बहस गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन्। सो कार्यक्रमको सहजीकरण समालोचक तथा कवि महेश पौड्यालले गर्नेछन्।

कार्यक्रमको दोस्रो सेसनमा भने केही गजलकारहरूले गजलवाचन गर्ने छन्। गजल वाचनको सहजीकरण गजल सन्ध्या पोखराका उपाध्यक्ष अमृत सुवेदीले गर्नेछन्।

गजलवाचनमा प्रकट पँगेनी शिव, डा. घनश्याम परिश्रमी, धनराज गिरी, दुर्गा शाह बाबा, भरत आचार्य, सरस्वती श्रेष्ठ सरुका गजल वाचन हुनेछन्। यस्तै ईश्वरमणि अधिकारी, असीम सागर, आवाज शर्मा, दीपक समीप, घनेन्द्र ओझा, रुपिन्द्र प्रभावी कटु, मन क्षेत्री, सङ्गीता आभास, महेश क्षितिज, असफल गौतम, बिर्सना बस्नेत, त्रुपक, प्रकाश अधिकारी, सुमन स्मारिका, सङ्गीता थापा, मोहन भण्डारी तथा सुदर्शन पौडेलका गजल पनि वाचन हुने आयोजकले जानकारी दिएका छन्। 

कार्यक्रम वरिष्ठ कवि तथा गीतकार तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न हुने आयोजक संस्था गजल सन्ध्याले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.