|

  • सबिता जीसी-

सुर्खेतः बैशाख ३१ गते भएको स्थानीय तहको चुनावमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको उपप्रमुखमा विजयी मैना विकले गुणस्तरीय शिक्षा र छुवाछुत अन्त्य आफ्नो प्राथमिकता भएको बताएकी छन्।

शिक्षकको जागिरबाट राजीनामा दिएको एक महिनाको अवधिमा गुर्भाकोट नगरपालिकाको उपप्रमुखमा अत्यधिक बहुमतले विजयी भइन् उनी।

एक महिनाअघिसम्म घर नजिकैको सरस्वती आधारभूत विद्यालयमा पढाउँदै आएकी मैना अहिले गुर्भाकोट नगरपालिकाको उपप्रमुखको कुर्सीसम्म आइपुगिन्।
शिक्षक हुँदाभन्दा गुर्भाकोट नगरपालिकाको उपप्रमुख हुँदा मैनाले आफ्नो जिम्मेवारी बढेको महसुस गरेको बताउँछिन्। उपप्रमुखमा निर्वाचित भएदेखि नै विकले सुर्खेतको गुर्भाकोट नगरपालिकाको समृद्धिका लागि कसरी काम गर्ने भन्ने योजना बनाउन लागिपरेकी छन्। 

मैनाले नौ वर्षसम्म शिक्षक पेशामा रहँदासम्म आफूलाई पूर्णकालीन राजनीतिमा आवद्ध हुँला भन्ने नलागेको बताइन्।

तर बैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुने भएपछि शिक्षक जागिरबाट राजिनामा दिएर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भइन्।

गुर्भाकोटको आर्थिक विकासका लागि लाग्नु आफ्नो पहिलो प्राथमिकता भएको मैनाको भनाइ छ। उनले भनिन्, ‘शिक्षक भएर पठनपाठन गराउँदाका थुप्रै अनुभव मसँग छन्, यहाँका बालबालिकाहरूले गुणस्तरीय शिक्षा पाउन सकेका छैनन्, दलित र आर्थिक अवस्था कमजोर भएका बालबालीकाहरू अझै पनि विद्यालयको पहुँच बाहिर छन्’, उनी भन्छिन्, ‘ती सबै विद्यार्थीलाई शिक्षाको पहुँचमा पुर्‍याउनु मेरो प्राथमिकता रहनेछ।’

नगर विकासका लागि आफूसँग थुप्रै खाका र योजना भए पनि आफू पूर्व शिक्षक भएकाले नगरको शिक्षालाई गुणस्तरीय बनाउनका लागि विशेष पहल गर्ने विकले बताइन्।

उनले नगरमा शिक्षाका साथै अन्य विभिन्न पक्षलाई पनि कार्ययोजनामा राखेर लैजाने बताइन्। आफ्नो दोस्रो योजनाका रूपमा जातका आधारमा गरिने विभेदलाई हटाउने बताएकी छन्। विकले भनिन्, ‘२१औँ शताब्दीमा पनि दलितहरूले अपमान सहनुपरेको छ, म यसको लागि डटेर लाग्नेछु।’ छुवाछुत निर्मूल पार्नका लागि नगरका सबै सरोकारवालाहरूसँग मिलेर जाने प्रतिवद्धता मैनाको छ।

उनको चिन्ता अब कसरी गुर्भाकोटकोे विकास गर्ने र गुर्भाकोटबासीको दैनिक जीवनलाई कसरी सहज बनाउने भन्ने छ। गुर्भाकोट नगरपालिकामा स्रोत साधन प्रशस्तै भए पनि, त्यहाँ उद्योगधन्दा र आधुनिक संरचना नभएकाले गुर्भाकोटको विकास गर्न चुनौती रहेको विकको बुझाइ छ। 

गुर्भाकोटलाई स्वच्छ, सफा नगर बनाउने, कृषि उत्पादनको वृद्धिका लागि लाग्ने मैनाले अठोट गरेकी छन्। उनी भन्छिन्, ‘जनताले मलाई गरेको विश्वासलाई अब मैले देखाउने समय आएको छ।’

शिक्षाका साथमा नगरको आर्थिक विकासका लागि कृषिमा जोड दिने, महिलाहरूलाई आयआर्जनमा सहयोग गर्नका लागि विभिन्न तालिम सञ्चालन गर्ने, पशुपालनका लागि तालिम तथा आवश्यक पहल गर्ने कुरा आफूले तयार गरेका योजनामा समावेश गरेर पाँच वर्षे कार्यकालमा नगरलाई सुन्दर समुन्नत बनाउने विकले बताइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.