|

उदयपुर : जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि नेपाली कांग्रेसले उदयपुर जिल्लाका ४ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस उदयपुरका प्रचार-प्रसार विभाग प्रमुख मदनराज कटुवालले ४ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको टुंगो लागिसकेको बताए। उनले ४ नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारको टुंगो लगाउने जिम्मामा जिल्लाले केन्द्रलाई दिएको जानकारी दिए।

४ गाँउपालिकामध्ये सुनकोशी गाँउपालिकामा अध्यक्ष पुप्पलाल राई र उपाध्यक्षमा रमिला राई उम्मेदवार छन्। यसैगरी ताप्ली गाँउपालिकामा अध्यक्षमा डिकबहादुरज्यु ठकुरी र उपाध्यक्षमा धनमाया मगर उम्मेदवार छन्। रौतामाई गाँउपालिकामा भुपेन्द्रबहादुर थापा अध्यक्ष र धनमाया थापा मगर उपाध्यक्षको उम्मेदवार छन्। उदयपुरको पुरानो सदरमुकाम रहेको उदयपुरगढी गाँउपालिकामा जीतबहादुर खड्का अध्यक्ष र बिमा राई उपाध्यक्षको उम्मेदवार छन्।

नगरपालिकामा सहमति जुटेन

तीन दिन अघिदेखि निरन्तर बसेको जिल्ला संयन्त्रको बैठकले जिल्लाका ८ स्थानीय तहमध्ये बाँकी ४ वटा नगरपालिकामा पनि उम्मेदवारको टुंगो लगाउने प्रयास गरेको थियो। तर आकांक्षी धेरै भएकाले सहमति हुन नसकेको ४ प्रचार विभाग प्रमुख मदनराज कटुवालले बताए।

‘हामीले जिल्लाको जम्मा ८ वटा स्थानीय तहको ७५ वटै वडाको वडाअध्यक्ष तथा खुल्ला सदस्य, महिला सदस्य सबैको नाम टुङगो लगाएका छौ,’ कटुवालले भने, ‘नाम धेरै लामो भएकाले केन्द्रबाट ४ वटै नगरपालिको प्रमुख तथा उपप्रमुको नाम घोषणा भइसकेपछि पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौ।’

जिल्लाको त्रियुगा, चोदण्डीगढी, बेलाक र कटारी नगरपालिकामा प्रमुख तथा उपप्रमुखका उम्मेदवार पार्टी केन्द्रले तोक्ने कटुवालले जानकारी दिए । ८ वटै स्थानीय तहको ७५ वटै वडाको वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारको नाम मात्र सार्वजानिक गर्न बाँकी भएको काङग्रेस उदयपुरले जानकारी दिएको छ।

यसैबीच नेकपा माओवादी केन्द्र उदयपुर पनि पहिलो चरणमा ७५ वटा वडाको वडाअध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी टुङगो लगाउने अन्तिम गृहकार्यमा रहेको माओवादी केन्द्र उदयपुरका सह संयोजक तथा प्रचार प्रसार विभागका इन्चार्ज जीवनकुमार कार्की 'कुशल'ले दिए। ‘हाम्रो पनि धेरै स्थानीय तहमा प्रमुख तथा उप्रमुखको उम्मेदवार सर्वसम्मतिका आधारमा तयार गरिएको छ,’ कार्कीले भने,‘पार्टीले औपचारिक रुपमा घोषणा नगरेसम्म नाम भन्न मिल्ने अवस्था छैन।’

नेकपा एमाले उदयपुरमा पनि नगरपालिकामा प्रमुख तथा उपप्रमुख छान्ने विषयमा विवाद देखिएको छ। अन्य दलहरु पनि उम्मेदवारी छनोटमा जुटेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.