|

दमक : एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा उम्मेदवार छनोटमा पार्टीले हस्तक्षेप गरेको भन्दै एमाले कार्यकर्ताहरु असन्तुष्ट देखिएका छन्। उम्मेदवार छनोटको क्रममा पार्टीले नाता र पहुँचका आधारामा टिकट दिएको भन्दै केही कार्यकर्ताहरुले तीव्र असन्तुष्टि जनाएका हुन्।

केही दिनअघि एमाले पार्टीको एक नम्बर प्रदेशको बैठकले दमक नगरपालिकाको प्रमुखमा रोम ओली र उपप्रमुखमा गीता अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। उक्त निर्णय गर्दा पार्टी कार्यकर्ताको भावनाविपरीत गरेको भन्दै एमाले दमकभित्र तीव्र असन्तुष्टि देखिएको हो। यसअघि एमालेका नगर इचार्ज अम्बिका खनालले पनि प्रमुखका लागि आफ्नो अडान छोडेका थिएनन्।

तर रोमनाथ ओली एमाले अध्यक्ष केपी शर्मा ओलीका भतिजा भएकै कारण टिकट पाएको खनाल पक्षका कार्यकर्ताको आरोप छ। यस्तै उपप्रमुखको उम्मेद्वार गीता अधिकारीलाई पनि वडाबाट सिफारीस नै नभई पार्टीले हस्तक्षेप गरेर उम्मेदवार बनाएको उनीहरुको आरोप छ। अधिकारी दमक बहुमुखी क्याम्पसकी प्राध्यपक हुन्।

यसअघि उपप्रमुखमा कार्यकर्ताहरुले वडाबाट सिफारिस गर्दा सुमित्रा भण्डारी, सुमित्रा प्रसाईं, नेत्र कुमारी धिमाल, लीला ढुंगेललाई सिफारिस गरेको भए पनि वडाबाट सिफारिस नै नभएको मान्छेलाई उम्मेदवार बनाएको पार्टीका नगर सल्लाहकार महेश घिमिरे बताउँछन्। उनी भन्छन्, ‘रोमजीले २०५४ सालमा पनि मेयर चलाउनु भएको हो, हाम्रो चाहना एउटै व्यक्तिले पटक–पटक चलाउनु हुन्न भन्ने हो, अम्बिकाजीले दमकमा धेरै संघर्ष गर्नु भएको छ, त्यसैले अबको प्रमुखको उम्मेद्वार अम्बिकाजी नै बन्नुपर्छ भन्ने हाम्रो माग हो।’

पार्टीका नेताहरु जनभावना र पार्टीको पद्धतिविपरीत अघि बढेको उनले बताए। उनले भने, ‘पार्टीका नेताको भेटले मात्र चुनाव जितिने होइन होला, त्यसमा जनताको पनि मनोभावना बुझ्नुपर्छ, तर पार्टी एकलौटी ढंगमा अघि बढ्यो।’

पार्टीका नेताहरु अहिले सामाजिक सञ्जालमार्फत दुई धारमा नै प्रस्तुत भइरहेका छन्। केही पार्टीका नेताले सामाजिक सञ्जालमार्फत पार्टीको निर्णयविपरीत अघि बढे कारबाही गर्ने धम्की दिएका छन्। कसैले पार्टीको आधिकारिक उम्मेदवार अम्बिका खनाल भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।

यता, पार्टीले निर्णय गरेर  दमक नगरपालिकाको प्रमुखको उम्मेदवार बनेका रोमनाथ ओलीले भने पार्टीको निर्णयविपरीत नजान सबैलाई आग्रह गरे। उनले भने, ‘पार्टीको निर्णयविपरीत नजानुहोला, पार्टीले सबैलाई समेट्ने गरी निर्णय गरेको छ।’

यस्तै, आफू पार्टीको तर्फबाट उम्मेदवार हुनुपर्छ भन्दै आएका अम्बिका खनालले भने पार्टीले नातावादमा पसेको दाबी गरे। उनले भने, ‘संघर्ष गर्नेलाई बेवास्ता गरियो तर नाता र पहुँचका आधारमा टिकट दिइएको छ, वडाबाट सिफारिस नै नभएकालाई पनि उम्मेदवार बनाइएको छ, यो हामीलाई मान्य हुँदैन म साथीहरुसँग सल्लाह गर्दै छु।’

पार्टीले प्रदेशको सचिवालयले गरेको निर्णय अहिलेसम्म बाहिर नआएकोले उम्मेदवार यही हो भन्न अवस्था नआएको एमाले जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक बताउँछन्। उनी भन्छन्, ‘अहिलेसम्म बैठक सम्पन्न भएपछि पार्टीको एक नम्बर प्रदेशको निर्णय आएको छैन, तर पनि झापामा जुन–जुन उम्मेद्वारको चर्चा छ, सम्भवत त्यही हो।’

उनले यो पटक अवसर नपाएकाहरुलाई अरु अवसर दिएर मिलाउने बताए। उनले भने, ‘हामी कम्युनिस्ट पार्टीका कार्यकर्ता हौं, त्यसैले पार्टीले गरेको निर्णय मानेर अर्को उम्मेद्वारलाई सहयोग गर्नुको विकल्प छैन, यो नै अन्तिम चुनाव होइन, असन्तुष्ट साथीहरु पनि आएर वार्तामा बसेर विकल्प खोज्न आग्रह गर्छौं।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.