|

  • विकास डाँगी 

दाङ : जेठ ३१ गते हुने दोस्रो चरणको स्थानिय तहको निर्वाचनको दिन नजिकिदै गर्दा दाङमा निर्वाचनको माहोल तातिँदै गएको छ। तुलसीपुर र घोराही उपमहानगरपालिका,लमही नगरपालिका र ७ गाउँपालिका गरी १० वटा स्थानिय तह रहेको दाङमा नेपाली कांग्रेस र नेकपा एमालेले प्रमुख पदका उम्मेदवारको टुंगो लगाएका छैनन्।  नेकपा माओवादी केन्द्रले भने १० वटै तहका प्रमुख पदका उम्मेदवारको नाम घोषणा गरी सकेको छ।

जिल्ला निर्वाचन कार्यालयसले पनि निर्वाचन सम्बन्धी कार्यलाई तिव्र रुपमा अगाडि बढाएको छ। निर्वाचनमा उत्साहजनक सहभागिता र मतपत्र कम भन्दा कम बदर गराउने उदेश्यका साथ निर्वाचन कार्यालयले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पहिलो चरणको निर्वाचनमा १० प्रतिशतभन्दा बढी मत बदर भएको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको गुनासो बढेपछि जिल्ला निर्वाचन कार्यालयले सर्तकता अपनाएको निर्वाचन अधिकृत विजयकुमार कार्कीले बताए।

आफ्नो अधिकार गाउँबाटै पाउने भएकाले निर्वाचनमा सहभागी हुनका लागि मतदाताहरु उत्साहित भएको नेपाली कांग्रेसका सभापति कृत्तिबहादुर खडकाको भनाइ छ। उनले नेपाली कांग्रेसले जिल्लाका १० वटै तहका लागि सबै उम्मेदवारको नाम १६ गतेभित्र टुंगो लगाउने बताए।

नेकपा माओवादी केन्द्रबाट तुलसीपुर उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार रहेका सेशुराम भण्डारीले जनता उत्साही भएसँगै आफु पनि खुसी भएको बताए। 'चुनावी महोल एकदमै तातिएको छ,' उनले भने।

चुनावी तयारीका लागी सुरक्षा व्यवस्थापन चुस्त पारिएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले बताए। आवश्यकता अनुसार सुरक्षा जनशक्ती थप परिचालन गर्दै जाने उनको भनाइ छ।

जिल्ला सुरक्षा समितिले निर्वाचनका लागी भिन्न-भिन्न समयका लागि भिन्ना-भिन्नै सुरक्षा रणनिति बनाएको उनले बताए। म्यादी प्रहरीहरु समेत चुनावी अभियानसँगै बजार सुरक्षाका लागि खटिएका छन्।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल स्थानीय तहको निर्वाचनपछि राजनीतिक अन्यौल न्यूनिकरण हुने अपेक्षा गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.