|

पाल्पा : कुनै बेला पाल्पा क्षेत्र नम्बर १ कम्युनिष्टको किल्ला मानिन्थ्यो। जहाँ अधिकांशले कम्युनिष्ट विचारमा आस्था राख्ने गर्दथे। मानौँ की, यहाँ कम्युनिष्टको तर्फबाट ढुंगा उठाए पनि जित्ने अवस्था थियो। पछिल्लो क्रममा भने त्यति सहज देखिदैन। 

कम्युनिष्ट पार्टी विभाजन हुनु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको विस्तार हुँदै जानुले विगतको तुलनामा नेकपा एमालेलाई केही चुनौती थपिएको अवस्था देखिन्छ। यहाँका केही स्थानीय तहमा फरक पार्टीका उम्मेदवारले जितेका उदाहरण छन्।  

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ। एमालेलाई जुन प्रकारको चुनौती विपक्षी दलको छ भन्ने आंकलन गरिएको थियो। तर त्यो सावित भएन्। जनजाती समुदायको बाहुल्यता रहेको यहाँ फरक समुदायका उम्मेदवार उठेर जित्न सक्दैनन् भन्ने कतिपयको अड्कलबाजी थियो। उनी गठबन्धनकातर्फबाट कांग्रेसका ज्ञानबहादुर गाहा उम्मेदवार थिए। 

नेकपा एमालेबाट नारायणप्रसाद आचार्य उम्मेदवार भइ चुनावी मैदानमा होमिए। अन्ततः आचार्यले जिते। निस्वार्थ भावनाले विकास निर्माण र जनताको काम गर्ने नेता भएकाले आचार्यले विजयी भएको चर्चा हुन थालेको छ। 

विगतका निर्वाचनमा एमालेका उम्मेदवारले सहज जित्ने बताइन्थ्यो। यसपालि कठिन मानिएको यहाँ एमालेका उम्मेदवार आचार्य अत्याधिक मतसहित विजयी भए। आचार्य १० हजार ८४७ मतान्तरणले विजयी भएका हुन्। उनले ३१ हजार १०३ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी गाहाले २० हजार २५६ मत पाए।

यस्तै स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८६३, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार मेहरमान रानाले ८५,  राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मंगोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले १ हजार ९ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले एक सय १५ प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवारहरू नारायण न्यौपानेले २७,  राजु सुनारले ६८ र डोलराज तिमिल्सिना (पुतली) चिन्हले १० मत प्राप्त गरे। 

प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेको थियो।  ५८ हजार ४ सय ९१ मत खसेको थियो। जसमध्ये १ हजार ४ सय सात मत बदर भएको छ।

किसान परिवारका आचार्य

आचार्य सामान्य किसान परिवारका सदस्य हुन्। तर मेहनत, लगाव र श्रमजीवीका रुपमा  पाल्पाली जनमनमा भिजेका नेता हुुन्। पूर्वखोला गाउँपालिका–३ (साविक रिङ्नेरह–१ तल्लो फाँटमा पिता डिल्लीप्रसाद आचार्य माता जेमकान्ती आचार्यको कोखबाट वि. सं. २०२६/९/१० गते जन्म भएको हो। माहिंला छोरा रुपमा रहेका उनी सानैदेखि साहसिक, जुझारू एवम् प्रतिभाशाली व्यक्ति हुन्। 

सानै उमेरदेखि सामाजिक काम गर्न रुचाउँथे। उनले गर्न खोजेका राम्रा काममा बुवाआमासहित सबै परिवारले साथ दिन्थे। आर्थिक अवस्था सामास्य रहेका उनलाई राजनीति र सामाजिक काम गर्न भने त्यति सहज थिएन्। मिठो खान राम्रो लुगा लगाउन उनको सोख थिएन। सामाजिक काममा निरन्तर अगाडि बढे। राजनीतिलाई अंगाले। पछिल्लो समयमा उनका राजनीति तथा सामाजिक गतिविधिमा उनका श्रीमती, दुई छोरा र एक छोरीले साथ दिन थाले। जसले गर्दा उनी राजनीतिमा सफल हुँदै गएका छन्। 

प्रमाणपत्र तहसम्म अध्ययन गरेका  आचार्य समसामयिक विषयमा अध्ययन गर्न रुचाउँछन्। हक्की स्वभावका उनीको व्यक्तिगत रूपमा नजिकबाट चिनेजानेकाले गुण, स्वभाव र क्षमताको प्रशंसा गर्छन्। 

राजनीतिको थालनी

स्थानीय उद्बुद्ध माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्दै गर्दा राजनीतिको सुरुवात गरे। विद्यार्थी संगठनका प्रारम्भिक कमिटीमा बसेर उनले काम गर्न थाले। 

उनी २०३९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा संगठित भए। २०४३ सालमा जनपक्षीय उम्मेदवार दयाराज बस्यालको प्रचारप्रसारमा खटिए। त्यतिबेला आचार्यले पूर्वखोलामा युवाको अगुवाइ गरेको थिए। राजनीतिक आदर्शलाई अवलम्बन गर्दै तत्कालीन पञ्चायत व्यवस्था विरुद्ध सञ्चालित आन्दोलनमा सरिक बनेका आचार्य बहुचर्चित, उर्जावान र जनतामाझ लोकप्रिय नेताको रुपमा स्थापित भए। पञ्चायत व्यवस्था विरुद्ध सञ्चालित संयुक्त जनआन्दोलन २०४६ मा सक्रिय रुपमा भित्तेलेखन र आमहड्तालजस्ता आन्दोलनमा सक्रिय सहभागी भए।

२०४६ सालमा पञ्चायती व्यवस्था विरुद्ध जनआन्दोलनमा सक्रिय रहेका आचार्य, २०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा संगठित भए। २०४८ को आमनिर्वाचनमा एमालेका उम्मेदवार दल बहादुर रानाको प्रचार प्रसारमा पूर्णरुपमा खटे। २०४९ को गाउँ विकास समितिको निर्वाचनमा एमालेका उम्मेदवार निलकण्ठ भट्टराई सहितको टिमलाई विजयी गराउन उनको महत्वपूर्ण भूमिका रह्यो। २०४९ पछि नेकपा (एमाले) इलाका नं. ४ कमिटीको सदस्य भई रिङनेरह, जल्पा, देविनगर, बहादुरपुर, रहवास र ज्यामिरेमा पार्टीको संगठन विस्तारमा निरन्तर सक्रिय रहे। 

साथीहरू विदेशतिर उनी राजनीतिमा 

बहुदल प्राप्तिपश्चात् धेरै युवाहरू वैदेशिक रोजगारका लागि पलायन भए। तर आचार्यले गाउँमै बसेर सक्रिय राजनीतिलाई निरन्तरता दिए। मुलुक परिवर्तनका आन्दोलनमा आफ्नो महत्वपूर्ण योगदान रहेको आचार्यले बताए।

व्यक्तिगत लाभभन्दा सामाजको हितमा उनी काम गर्न चाहन्छन्। उनले पाएका जिम्मेवारी इमान्दारीसाथ पालन गरेकको देखिन्छ। पछिल्लो समयमा करीब एक दशकभन्दा बढी समय नेकपा एमालेको पूर्णकालिन कार्यकर्ताको रूपमा काम गर्दै आएका छन्। जसरी काम गरिरहेका छु। त्यसरी नै पार्टीले आफूको मूल्यांकन गरेको उनको बुझाई छ। 

गाविस अध्यक्षदेखि प्रदेश हुँदै संघीय सांसद

२०५४ स्थानीय निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट रिङनेरह गाविसको अध्यक्ष भई ५ वर्ष काम गरे। गाविसमा धेरै विकास निर्माणको काम गर्न गरेका कारण उनी यस क्षेत्रमा लोकप्रिय नै बने। २०५५ सालदेखि निरन्तर नेकपा (एमाले) पाल्पा जिल्ला कमिटी सदस्य, २०६८ देखि ०७१ सम्म नेकपा (एमाले) पाल्पा जिल्ला कमिटी उपाध्यक्ष, २०७३ देखि ०७८ सम्म नेकपा (एमाले) पाल्पा नवौं जिल्ला कमिटी अध्यक्ष, हाल प्रदेश कमिटी सचिवालय सदस्य हुन्।

२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र नं. १ (ख) बाट उनी निर्वाचित भए। प्रदेश सांसद रहँदा उनले यस क्षेत्रको विकासलाई तीव्र गतिमा अगाडि बढाए। उनले जिल्ला भरिकै विकासका लागि सक्रिय भूमिका खेलेका थिए। आफै मोटरसाइकल चलाउँदै प्रत्यक्ष जनताको घरदैलोमा पुगेर विकास निर्माणका काममा सहजीकरण गर्ने हुँदा यस क्षेत्रमा उनी विकासप्रेमी नेताका रुपमा उनी परिचित छन्। 

सांसदमा निर्वाचितपछिको प्रतिवद्धता

पहिला नेपालको एन, कानुन र नियमलाई समय सापेक्ष बनाइ कार्यान्वयनमा लैजान पहल गर्नेछु। यस क्षेत्रका कतिपय गाउँमा विद्युत पुगेको छैन्। अबको दुई वर्षमा सबै घरमा विद्युत विस्तार गर्ने आचार्यले प्रतिवद्धता गरे।

पाँच वर्षे कार्यकालमा एक घर एक धारा कार्यक्रमलाई सम्पन्न गर्ने उनले बताए। यहाँका सडकको स्तारोन्नति गर्ने कामलाई तीव्रता दिनेछु। शैक्षीक गुणस्तरलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गर्नेछु। विद्यालयको अवस्था हेरिकन भौतिक संरचना निर्माणका लागि पहल गर्नेछु। 

पालिकास्तरमा निर्माण भइरहेका १५ श्याका अस्पताललाई समयमै सम्पन्न गरी विशेषज्ञसहितको उपचार सेवा उपलब्ध गराउने उनले बताए।  शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि पाल्पाली अर्थतन्त्रको मेरुदण्ड हो। यसलाई प्राथमिकता दिएर काम गर्नेछु। कृषिमा व्यावसायीकरण र यान्त्रिकरणका लागि बजेट तथा कार्यक्रम ल्याउने छु। कृषिमा युवालाई आकर्षण गर्ने र रोजगारी सिर्जना गन पहल गर्ने उनले बताए।

प्रविधिको विकास र उद्यमशीलताले देशलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्ने। समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्नको लागि इमानदार भएर काम गर्ने उनी बताउँछन्। यहाँका जनताको जनजीविकालाई बुझेर काम गर्ने आचार्यले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.