|

काठमाडौं : दोस्रो चरणको स्थानीय तह चुनावको तयारीमा जटिलता देखिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाले सत्तासाझेदार कांग्रेस र प्रतिपक्षी एमालेसँग छलफल गरेका छन्।

चुनावी माहोल बिथोल्नेगरी राजपाले शुक्रबार आन्दोलन घोषणा गरेको, मधेसको माग सम्बोधनको लागि स्थानीय तहको संख्या बढाउने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको भन्दै दाहालले विकल्पबारे छलफल गरेका हुन्।

शुक्रबार राति अबेरसम्म बालुवाटारमा चलेको शीर्ष नेताको बैठकमा दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष केपी ओलीमात्रै सहभागी थिए। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार दाहालले प्रतिपक्षीबाट संविधान संशोधनमा सहयोग नभए पनि स्थानीय तहको संख्या थप्ने प्राविधिक विषयमा पनि असहयोग भएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए।

उनले चुनावमा मधेसी घटकलाई सहभागी गराउन नसके उत्पन्न हुने राजनीतिक जटिलताको जिम्मेवारी संविधान जारी गर्ने ठूला तीन दलले नै लिनुपर्ने भएकाले गम्भीर हुन आग्रह गरेको स्रोतले बतायो।

एमाले अध्यक्ष ओलीले आफूले भन्दाभन्दै सरकार एकलौटी रूपमा स्थानीय तह थप्न लागेको भन्दै ‘अदालतले भनेपछि मात्रै सुन्ने’ प्रवृत्ति हटाउन आग्रह गरे। बैठकमा कांग्रेसका सभापति देउवा भने खासै नबोलेको स्रोतले बतायो। सत्तारोहणका लागि ठिक्क परेका बेला आफूप्रति लक्षित गर्दै पछिल्ला दिनमा ओलीले कडा टिप्पणी गरेपछि देउवा असन्तुष्ट देखिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.