पहिलो प्राथमिकता - धुलो नियन्त्रण, त्यसपछि मेट्रो र मोनो रेलका कुरा

|

काठमाडौं : विद्यासुन्दर शाक्य देशकै सबैभन्दा पुरानो र शक्तिशाली काठमाठौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन्। कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार ६ सय ४४ मतान्तरले पराजित गरेका शाक्यले महानगर प्रमुखमा निर्वाचित भएसँगै आगामी पाँच वर्षसम्म काठमाडौं महानगरको जिम्मेवारी सम्हाल्नेछन्।

काठमाडौं महानगरको प्रमुखका निर्वाचित विद्यासुन्दर प्रमुख प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेसलाई मानेका थिए। तैपनि कांग्रेस उम्मेदवारलाई २० देखि २५ हजार मतान्तरले पछि पार्ने उनको अनुमान थियो। 'मैले जति मत पाउँछु भनेको थिएँ, अलिकति कम आयो। हामीले नसोचेको किसिमले धेरै मतहरु बदर पनि भए' विजेता घोषित हुनु एक दिनअघि थाहाखबरसँग भने, 'तेस्रो, चौथो पोजिसनमा रहेका नयाँ दलहरुले पनि मैले र मेरो पार्टीले विश्‍लेषण गरेको भन्दा बढी मत पाएको देखियो।'

मत परिणाम आइसकेपछि उनले सुरुमा त मतदाताले गरेको विश्वासप्रति कृतज्ञता व्यक्त गरे। 'जसरी हामीलाई विश्‍वास गरेर महानगरवासीले मत दिनुभयो उहाँहरु र हामीलाई मत नदिएकाहरुको पनि विश्‍वास जित्‍नेगरी काम गर्छौं। त्यो विश्वासलाई अझ बढाउने गरी हामी काम गरेर देखाउछौं' शाक्यले भने।  

को हुन् विद्यासुन्दर?

विद्यासुन्दर काठमाडौं महानगरपालिका-२१ लगनटोलमा २०२० साल जेठ ९ गते बाबु हेरारत्न शाक्य र आमा मंगलशोभा शाक्यबाट जन्मिएका हुन्।त्रिपुरेश्वरको विश्व निकेतन माध्यमिक विद्यालयबाट विद्यालय तहको अध्ययन र शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन गरेका उनी १६ वर्षको छँदा २०३७ सालको जनमत संग्रह हुँदा नै राजनीतिमा लागिसकेका थिए। 

२०४६ सालमा पञ्चायतविरुद्धको आन्दोलनमा पनि उनी सक्रिय रहे। बहुदलीय प्रजातनत्र स्थापनापछि गठन भएको नेकपा एमालेको तत्कालीन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनमा शाक्यले काठमाडौं जिल्लाको संस्थापक कोषाध्यक्ष रहेर काम गरे।  

युवा संगठनको कोषाध्यक्ष भई राम्रो काम गरेका कारण पार्टीले उनलाई ०४९ सालको स्थानीय निकाय निर्वाचनमा काठमाडौं वडा नम्बर २१ को अध्यक्षको उम्मेदवार बनाएको थियो। अत्यधिक मतले वडाअध्यक्ष निर्वाचित भएका शाक्यको सबैका कुरा सुन्ने, विकास निर्माणका काममा खट्ने, राम्रो कामका लागि विपक्षीलाई पनि साथ समर्थन गर्ने उनका निकटस्थहरु बताउँछन्।

आफ्नो पहिलो कार्यकालमा आफ्नो वडामा उदाहरणीय काम गरेका शाक्य ०५४ सालमा भएको स्थानीय निर्वाचनमा समेत वडाअध्यक्षमा निर्वाचित भएका थिए। दुई दशकदेखि एमालेको काठमाडौं जिल्ला कमिटीको विभिन्न जिम्मेवारीमा रहेका विद्यासुन्दर हाल जिल्ला कमिटीको सचिव छन्।

राजनीति शुरु गर्दा महानगरपालिका प्रमुख बन्ने कल्पनासम्म नगरेका शाक्यले राजनीतिमार्फत समाज परिवर्तनलाई लक्ष्य बनाए। पद र पैसाका लागि नभएर प्रतिष्ठा र समाज परिवर्तनका लागि राजनीति गर्नुपर्ने उनको मान्यता छ। शाक्यले आफ्नो कार्यकालमा भनिने महानगर मात्र नभएर देखिने महानगर बनाउने संकल्प लिएका छन्।

पहिलो प्राथमिकता धुलो नियन्त्रण

धेरै यातायातका साधन, जारी सडक निर्माण र मेलम्चीको पाइप बिछ्याउने कार्यले काठमाडौंमा धुवाँ र धुलो अत्याधिक छ। त्यसैले नवनिर्वाचित नगर प्रमुख शाक्यले पहिलो चरणमा धुलो नियन्त्रण र बाटो मर्मतमा जोड दिने प्रतिवद्धता जनाएका छन्। 'कार्यभार शुरु गरेको दिनदेखि नै धुलो नियन्त्रण गर्न शुरु गर्छौं' उनले भने 'मुख्य समस्या धुलो हो। करिब एक महिनामा हामी यो काम अगाडि बढाइसक्छौ।'

विद्यासुन्दरको घोषणापत्रमा ८४ वर्ष पुगेका महानगरवासीलाई वार्षिक १२ हजार भत्ता दिने उल्लेख थियो। पदबहाली गरेको केही दिनमै निर्णय गरेर कार्यान्वयन गर्ने उनले बताए। '८४ वर्ष नाघेका जेष्ठ नागरिकलाई वार्षिक १२ हजार महानगर भत्ता दिन्छौं' शाक्यले भने, 'महानगर भत्ता दिने कुरा हामी तत्काल कार्यान्वयन गर्छौ। यो हामी पहिलो निर्णयमै कार्यान्वयन गर्छौं, सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्‍याउने कुरा क्रमिक रुपमा अध्ययन गरेर अगाडि बढाउछौं।' 

उनको पार्टी नेकपा एमालेले घोषणापत्रमा उल्लेख गरेको मेट्रो र मोनो रेल योजनालाई कार्यान्वयन गर्न आफू प्रतिवद्ध रहेको शाक्यले बताए। 'मोनो, मेट्रो रेलको कुरा नेपाल सरकारले पनि अध्ययन गरिसकेको छ। डकुमेन्ट तयार छ। महानगरपालिकाले पनि अध्ययन अगाडि बढाइसकेको छ' उनले भने, यो नेकपा एमालेको मात्र होइन यो सबै पार्टीको एजेण्डा बनिसकेको छ। त्यसकारण यो काम गर्न सकिन्छ। यसमा सबैले सहयोग गर्छन्।'

सबैलाई मिलाएर लैजान्छु

महानगरपालिका प्रमुखमा निर्वाचित भएपछि शाक्यले अब आफू कुनै दल विशेषको मात्र नभई सिंगो महानगरपालिकाको प्रतिनिधि भएकाले सबैको सल्लाह र सुझावमा अघि बढ्ने बताए। 'म अब जनप्रतिनिधि हुँ। जनप्रतिनिधि भएको हिसाबले सबै पार्टीले पाएका मतको सम्मान हुने। मतदाताहरुको मतको सम्मान हुनेगरी महानगरलाई अगाडि बढाउछौं' उनले भने।

उम्मेदवारी दिएपछि व्यक्त गरेका प्रतिवद्धताहरु अब कार्यान्वयन गर्ने बेला आएको शाक्य बताउँछन्। 'सबैभन्दा चुनौती भनेको हिजो बोलेका कुराहरु कार्यान्वयन गर्ने नै हुन्। त्यसतर्फ मेरो प्राथमिकता रहन्छन्। क्रमिक रुपमा हिजो बोलेका कुराहरु सबै पुरा गर्दै अगाडि बढ्छु' उनले भने 'हामी भर्खरै निर्वाचित भएका छौं। यहाँ एमाले सहित अन्य दलहरु पनि आएका (निर्वाचित भएका) छन्। त्यसकारण उहाँहरु सबैसँग सल्लाह गरेर हामी अगाडि बढ्छौं।'

काठमाडौं महानगरपालिकामा नेकपा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो। तर उपप्रमुखमा गठबन्धनका उम्मेदवार राप्रपा नेता राजाराम श्रेष्ठ विजयी भएनन्। 'उहाँलाई हामीले जिताउन सकेनौ। त्यसमा दुःख छ' शाक्यले भने, 'हार्दाखेरि पनि मैले उहाँहरुसँग सल्लाह गर्नुछ। अन्य दलसँग पनि सल्लाह गरेर अगाडि बढ्छौ। सरकारमा रहेका दलहरु छन्। उहाँहरुसँग सल्लाह नगरी अगाडि बढ्दा अप्ठ्यारो हुन सक्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • धुलाे हेैन अव हिलाे नियन्त्रण गर्ने वेला भइसक्याे कमरेड । जीतकाे लागि बधाइ । जीत्नु पर्ने समस्याहरू धेरै छन् । शुभकामना ।