|

सुर्खेत : जाजरकोटमा आर्थिक वर्ष वर्ष २०७८/७९ मा सुत्केरी हुन नसकेर ज्यान गुमाउने १७ मध्ये पाँचजना २० वर्षमुनिका छन्। बच्चा जन्माउन नसकेको अवस्थामा ज्यान नै जाने घटना धेरै रहे पनि सबै सार्वजानिक नहुने गरेको पाइएको छ। 

बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको मातृ मृत्युको तथ्यांक डरलाग्दो रहेको महिला अधिकार मञ्च जाजरकोटका संयोजक आशा सिंहले बताइन्। शारीरिक र मानसिक रूपमा परिपक्व नभई कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी नआएको उनको भनाइ छ। 

बच्चा जन्माउन सफल भएका कतिपय आमाको पछि पाठेघर खस्ने, अन्य शारीरिक समस्या देखापर्ने गरेको सिंहले बताइन्।  कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाउने व्यवस्था गरेको छ। यसलाई रोक्न सरकारी तथा गैरसरकारी संस्थाबाट अभियान सञ्चालन भए पनि बालविवाह न्यूनीकरण हुन नसकेको हो। 

कर्णालीमा ५२ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्यांक छ। गरिबी, अशिक्षा र पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बालविवाह बढ्दो छ। जनचेतनामूलक कार्यक्रम भइरहे पनि अपेक्षित रूपमा बालविवाह न्यूनीकरण हुन सकेको छैन। उमेर नपुग्दै बालविवाह गरेको पाइए अभिभावकलाई राखेर सम्झाइ बुझाइ गरेर बिहे रद्द गर्ने गरिए पनि लुकिछिपी बाल विवाह भइरहेको बताइन्छ। 

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा कलिलो उमेरमा आमा हुनेको संख्यामा कमी नआएको छ। २०७६ यता कर्णालीमा गर्भवती हुनेको तथ्यांकअनुसार १६ हजार ७०१ जना २० वर्षमुनिका छन्। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार ३२८ जना २० जना, २०७७\७८ मा छ हजार २० जना  र २०७८/७९ पाँच हजार ३५३ जना २० वर्षमुनिका छन्। कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा आमा र बच्चा दुवैको ज्यान जोखिममा रहेको छ। 

समाजमा बालविवाह भएपनि अधिकांश जात मिल्नेसँग भएमा चुपचाप लाग्ने र फरक जात हुन वित्तिकै प्रहरी सम्मा पुग्ने गरेको पाइन्छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा २० वटा, २०७८/७९ मा ११, २०७९/८० मा छवटा उजुरी बालविवाह दर्ता भएका हुन्।  बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउने तयारी थालेको बताइएको छ। बालविवाह न्यूनीकरण गर्न प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’लगायत छात्रवृत्तिलगायतका सचेतनाका कार्यक्रम सञ्चालन ल्याएको भए पनि त्यो प्रभावकारी नभएको पाइएको छ। 

घरको आर्थिक समस्यादेखि सामाजिक सञ्जालको दुरुपयोगका कारण बालविवाह बढी हुने गरेको पाइन्छ। परिवारका गलत संस्कार र बालबालिकाको निगरानी नहुँदा पनि बालविवाह बढेको सरोकारवालाको भनाइ छ। अहिले सबै ठाउँमा पहुँच बढेसँगै सबै कुरा थाहा हुने नागरिक अगुवा तथा बाल विवाह न्यूनिकरण अभियानतका अभियन्ता राजेन्द्रविक्रम शाहले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.