|
तस्बिर : राजधानी दैनिक

अछाम : तुर्माखाँद गाउँपालिका–२ अछामकी मीना नेपालीले नाकको फुली बेचेर चामल किनिन्। उनको परिवारले त्यही चामलले छाक टार्न थालेको एक महिना नाघ्यो। ‘खाद्यान्नको जोहो गर्दा भएको पाखोबारी, भैंसी र बाख्रा पनि रहेनन्,’ स्थानीय तह निर्वाचनका लागि भोट माग्न गाउँ पुगेका नेतासँग उनले भनिन्, ‘सबै सकिएपछि नाकको फुलीसमेत बेचें। अब त जायजेथा सबै सकियो।’

तुर्माखाँद–१ की जीवन्ती नेपाली ससुरा र छोराछोरीका साथ। जीवन्तीका श्रीमान्लगायत गाउँका सबै पुरुष कामको खोजीमा भारत गएपछि यो गाउँमा केटाकेटी, महिला र वृद्धवृद्धा मात्रै छन्। सिँचाइ सुविधाको अभावले उत्पादन शून्यमा झर्दा पुख्र्यौली सम्पत्ति बेचेर परिवार पाल्नु परेको उनको पीडा सुनेपछि नेताहरूले पनि आश्वासन देखाए। तर, उनलाई खास विश्वास लागेन।

‘म मात्र होइन, यो गाउँका सबैको पीडा उस्तै छ,’ उनले भनिन्, ‘तपाईंहरूले भोटको सट्टा चामल पठाइदिनुहोला।’  उत्पादन नहुँदा भोकभोकै बस्ने अवस्था आएको भन्दै उनले जसले चामल दिन्छ उसैलाई मात्र भोट दिने बताइन्। ‘यो कुरा सरकारलाई पनि भन्नुहोला,’ उनकै छिमेकी कला दमाईले भनिन्, ‘नत्र हामी कसैलाई भोट दिन्नौं।’

तीन वर्षदेखिको लामो खडेरीका कारण बाली लगाउन नपाउँदा ढुंगाचाल्ना, ढकारी, लयाटी, बारला, पुल्लेतोला, सिउडी, सोकट, ठाँटी, कुस्कोटलगायत ठाउँका राम्रो उत्पादन हुने खेत पनि बाँझै छन्। केही वर्षअघिसम्म जिल्लाको साँफेबगर, हिच्माको चाइरा, ढुंगाचाल्नाको मालुमेला, मंगलसैनको कैलासखोला, मुजाबगरलगायत ठाउँ धान उत्पादनका लागि प्रख्यात मानिन्थे।

समयमै आकाशे पानी पर्दा खेत हराभरा देखिन्थे। तर, सिजनमा वर्षा हुन छाडेपछि खोलामा पानी सुक्दा त्यहाँ पनि उत्पादन घटेको स्थानीय नवीन रावलले बताए। ‘सिँचाइ छैन। पहल पनि कोही नेताले गरेनन्,’ उनी भन्छन्, ‘पहिले पनि भोट माग्न आउँदा कुलो हाल्छु भन्थे। खै अहिलेसम्म त खेत बाँझै छन्।’ सिँचाइ अभावकै कारण बुढीगंगा, कैलासखोला र कर्णालीकिनारकै ठूलठूला फाँट पनि बाँझै छन्।

कुलो नहुँदा खेत बगरमा परिणत भएका छन्। उत्पदान नहुँदा खाद्यान्न किन्दाकिन्दै सम्पत्ति सकिएपछि अधिकांश विपन्न समुदाय पलायन हुने अवस्थामा छन्। ‘खेतबारी सबै बाँझो छ। हामीले मागेको कोही दिन्नन्। भोट त सधैं दिन्छौं। तर, केही मिलेको छैन,’ ढकारी–४ का विक्रम बिकले भने। २१ हजार ५ सय ६२ जनसंख्या रहेको अछामको ढकारीका अधिकांश गाउँमा यतिबेला महिला, बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन्छन्। गाउँमा खाद्यान्न जोहो गर्ने उपाय नभएपछि पुरुष धमाधम भारत जान थालेका छन्। ‘छाक टार्न मुस्किल भएपछि कमाइका लागि भारतको बिहार जाँदै छौं,’ मंगलसैन बसपार्कमा भेटिएका लयाटीका दानबहादुर नेपालीले भने।

बारलाका समाजसेवी जयबहादुर शाही भन्छन्, ‘परिवार पाल्नकै लागि कमाइ गर्ने उमेरका करिब ४० प्रतिशत पुरुष रोजगारीका लागि भारत गएका छन्।’ जिल्लाको कुल क्षेत्रफल १६९० वर्ग किमिमध्ये ३३ दशमलव ४१ प्रतिशत जमिनमा मात्र खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अछाम जिल्लामा ४७ दशमलव २ प्रतिशत घरपरिवार अति गरिब अवस्थाका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.