|

डडेल्धुरा : जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र डडेल्धुराले उम्मेदवार हरुको टुंगो लगाएको छ। ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा माओवादीले तीन वटा स्थानीय तहका  सबै उम्मेदवारहरुको सहमतिबाटै टुंगो लगाएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मानसिंह माल क्रान्तिले जानकारी दिए। उनले दुई वटा स्थानीय तहमा अध्यक्ष पदका उम्मेवारको पनि  टुंगो लगाएको बताए।

माओवादी केन्द्रले परशुराम नगरपालिकाको प्रमुखमा शेर सिंह माललाई उम्मेदवार बनाएको छ। उनी जिल्ला संयोजक मान सिंह मालका दाइ हुन्। यस नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रले उपप्रमुखमा विमला महतालाई उम्मेदवार बनाएको छ।

यस्तै, आलिताल गाउँपालिकाको अध्यक्षमा जगत पार्कीलाई उम्मेवार बनाएको छ। उनी लामो समयदेखि माओवादी पार्टीमा सक्रियरुपमा राजनीति गरिरहेका छन्। उनी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन्। यस गाउँपालिकमा उपाध्यक्षमा सुशीला खत्रीलाई उम्मेदवार बनाएको नेकपा माओवादीले जनाएको छ।

अजयमेरु गाउँपालिकाको अध्यक्षमा उमेश प्रसाद भट्टलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ। उनी महाधिवेशन आयोजक समिति सदस्य तथा माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्ट ‘विनोद’का भाइ हुन्। उक्त गाउँपालिकाको उपाध्यक्षमामा कलापति भाँणलाई उम्मेदवार बनाएको छ।

गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा ईश्वरीदत्त भण्डारीलाई उम्मेदावर बनाएको छ भने उक्त गाउँपालिकाको उपाध्यक्षको टुंगो लगाउन बाँकी रहेको छ। यस्तै भागेश्वर गाउँपालिकाको अध्यक्षमा माओवादीले ओम प्रकाश साउँदलाई टिकट दिएको छ। अध्यक्ष पदका उम्मेदवार साउँद महाधिवेशन आयोजक समिति सदस्य हुन्।

माओवादी केन्द्रले नवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकाको उम्मेदवारको टुंगो लगाएको छैन। जिल्ला संयोजक मालले केही दिनमै बाँकी उम्मेदवारहरुको टुंगो लगाउने बताएका छन्। अमरगढी नगरपालिकामा माओवादी केन्द्रबाट प्रमुखमा दुई जना आकांक्षी देखिएका छन्।

माओवादी केन्द्रबाट प्रमुख लागि करुणाकर ओझा र यक्षराज जोशीको नाम अहिले चर्चामा रहेको छ। ओझा महाधिवेशन आयोजक समिति सदस्य हुन् भने जोशी जिल्ला सचिवालय सदस्य हुन्। जिल्लामा नेकपा एमाले, राष्ट्रिय जनमोर्चाले उम्मेवारको टुंगो लगाइसकेका छ भने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने अझैँ पनि उम्मेदवारहरुको टुंगो लगाउन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.