|

विराटनगर : दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मोरङका १७ स्थानीय तहमध्ये ११ तहका उम्मेदवारहरूको टुंगो लगाएको छ। नेकपा एमालेको प्रदेश कमिटीले जिल्लाका ५ वटा नगरपालिका र ६ वटा गाउँपालिकाका उम्मेदवारको टुंगो लगाएको हो।

एमालेले उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, रंगेली र सुनवर्षी नगरपालिका तथा कानेपोखरी, मिक्लाजुङ, धनपालथान, कटहरी, ग्रामथान, केराबारी गाउँपालिकाका प्रमुख तथा उपप्रमुखको टुंगो लागेको हो। एमालेले उर्लाबारीको प्रमुखमा भुपाल जिमी र उपप्रमुखमा लक्ष्मी भण्डारीलाई उम्मेदवार बनाउने भएको छ।

यस्तै, पथरी शनिश्चरेमा दीलिपकुमार राई र यमुना विष्ट, लेटाङमा भुपेन्द्र लावती र कृष्णकुमारी निरौला, सुनवर्षी नगरपालिकामा हसन इमाम बक्स र मीरादेवी दास, रंगेली नगरपालिकामा सन्तोषकुमार साह र उषा झा ठाकुरलाई प्रमुख तथा उपप्रमुखको उम्मेदवारको रुपमा चयन गरेको छ। यस्तै, मोरङको मिक्लाजुङ गाउँपालिकामा देवी आचार्य र सरला राई, कानेपोखरी गाउँपालिकामा ताराबहादुर काफ्ले र राजकुमारी इङ्नामलाई उम्मेदवार बनाउने भएको छ।

एमालेले धनपालथानमा मुसहरू मण्डल र उपप्रमुखमा उपासीदेवी राजवंशी, ग्रामथान गाउँपालिकाकामा शिवनारायण माझी थारू र गुणावतीदेवी थारू धामी, कटहरी गाउँपालिकामा मुक्तिनारायण राजवंशी र सुमनकुमारी सरदार तथा केराबारी गाउँपालिकामा नवीन थापामगर र शान्ती लिम्बू प्रमुख तथा उपप्रमुखको उम्मेदवार बनाउने भएको छ। एमालेले विराटनगर उपमहानगरपालिकासहितका ६ स्थानीय तहका उम्मेदवार भने टुंगो लगाउन बाँकी छ।

विराटनगर उपमहानगरपालिका, सुन्दर हरैचा नगरपालिका, जहदा गाउँपालिका, बुढिगंगा गाउँपालिका, बेलबारी नगरपालिका र कटहरी गाउँपालिकाको उम्मेदवार चयन गर्न बाँकी छ।

एमालेले विराटनगर उपमहानगरपालिकाको प्रमुखको निर्णय नगरेपनि जिल्ला अध्यक्ष विनोद ढकाललाई अगाडि सार्ने सम्भावना देखिएको छ। उपमहानगरपालिकाको मेयरको निर्णय स्थायी कमिटिले गर्नेमा धरान र इटहरी महानगरको टुंगो लागेपनि विराटनगरको टुंगो लागेको छैन।

‘अहिलेसम्म विराटनगरका लागि मेयरमा ढकालको नाम १ नम्बरमा छ,’ स्रोतले भन्यो, ‘माथिल्लो कमिटिले पनि सोही अनुसार निर्णय गर्छ।’ ढकालनै उम्मेद्वार भएको प्रष्ट संकेत गर्दै एक एमाले नेताले भने ‘ढकाल भन्दा दायाँबायाँ निर्णय होला जस्तो लाग्दैन।’

एमाले मोरङका नेता वसिम आलमले भने विनोद ढकालको नाम १ नम्बरमा मोरङको आँखाले हेरेपनि स्थायी समितिमा २ नम्बरमा पर्नसक्ने बताए। ढकालसँगै विराटनगरको प्रमुखमा एमालेका पूर्व जिल्ला अध्यक्ष महेश रेग्मीको पनि चर्चा छ।

माओवादीले १५ मा उम्मेदवार टुंग्यायो

जिल्लाका १७ तहमध्ये माओवादी केन्द्रले केराबारी र कटहरी बाहेक १५ तहको उम्मेदवार टुंगो लगाइसकेको छ। नेपाली कांग्रेसले भने जिल्लाका १७ स्थानीय तहमध्ये २ तहका उम्मेदवार मात्रै टुंग्याएका छन्। नेपाली कांग्रेसले उर्लाबारीको प्रमुखमा खड्ग फागो र उपप्रमुखमा सीता कार्कीलाई उम्मेदवार बनाएको छ भने केराबारी गाउँपालिकाको प्रमुखमा रोहित कार्की र उपप्रमुखमा कल्पना कटुवाल राईलाई उम्मेदवार बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.