मतदाता परिचयपत्र वितरण २८ गतेदेखि

|

काठमाडौं : निर्वाचन आयोगले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि प्रदेश नम्बर १, २, ५ र ७ मा सोमबारदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ।

दोस्रो चरणमा निर्वाचन हुने ४ सय ६१ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले दोस्रो चरणअन्तर्गत निर्वाचन हुन लागेका ४ सय ६१ स्थानीय तहमध्ये ४ सय २० स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछ भने ४१ जिल्लाका सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतले नै निर्वाचन अधिकृतको काम गर्नेछ। निर्वाचन हुन लागेका ४१ जिल्ला सदरमुकाममा जेठ ६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले सोमबारदेखि दोस्रो चरण अन्तर्गतका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुल्ने बताए। 'अब सोमबार दोस्रो चरणअन्तर्गत निर्वाचन हुने स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई निर्वाचन तयारीको काम सुरु हुन्छ', दाहालले भने, 'जिल्ला सदरमुकाम रहेको स्थानीय तहको काम भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ।' निर्वाचन तयारीका लागि सरकारले उपसचिवलाई निर्वाचन अधिकृत र जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ।

यसअघि सरकारले एकै चरणमा वैशाख ३१ गते निर्वाचन गर्ने भन्दै देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरी कार्यालय खोलेपनि पछि दुई चरणमा गर्ने निर्णयसँगै दोस्रो चरणमा हुने निर्वाचनका लागि कार्यालय खोल्ने काम स्थगित गरेको थियो।

मतदाता परिचयपत्र २८ गतेदेखि

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि जेठ २८, २९ र ३० गते सम्बन्धित मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण गर्ने भएको छ। आयोगले मतदान गर्ने ९० लाख ९७ हजार ५ सय ५७ मतदाताको परिचयपत्र तयार पारी सम्बन्धित जिल्ला पठाइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.