सल्यान : नगदेबालीको रुपमा रहेको अदुवाको उत्पादन घट्दै जान थालेको छ।
सल्यान बोसे जातको अदुवाले समेत परिचित रहेको छ तर उचित मूल्य नपाउँदा तथा समयमै बिक्री नहुँदा कृषकहरू अदुवा खेतीबाट विमुख हुँदै जान थालेका छन्। त्यसमाथि जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा पनि व्यावसायिक अदुवा खेती गर्ने किसानलाई बाली लगाउन छाड्नुपर्ने बाध्यता छ।
किसान प्रतिकिलो २० देखि २५ रूपैयाँसम्ममा अदुवा बिक्री गर्न बाध्य भएका छन्। यस वर्ष २० क्विन्टल अदुवा उत्पादन गरे पनि भनेजस्तो मूल्य नपाएको शारदा नगरपालिका-१४ माल्नेटाका कुलबहादुर विकले बताए। माल्नेटामा मात्र व्यावसायिक अदुवा खेती गर्दै आएका झन्डै ४ सय घरपरिवार किसान छन् तर उचित मूल्य नपाउँदा त्यहाँका किसानले वर्षेनी अदुवा उत्पादन घटाउँदै लगेका छन्।
केही वर्षदेखि अदुवाले मूल्य नपाउँदा जीविका चलाउन समस्या भएको अर्का किसान रमेश विकले बताए। उनले भने‚ ‘२५/३० रुपैयाँ किलोले हामीलाई के आम्दानी हुन्छ? कसरी जीविका चलाउने? यसैको खेती किसानी गर्दागर्दै यत्रो वर्ष बित्यो।’
अहिले बिक्री गर्ने सिजन चलिरहेकाले माल्नेटाका क्षेत्रका किसान बारीमा खनेको अदुवा सफा गर्ने र ग्रेडिङ गर्नमा व्यस्त छन्। तर अदुवाको मूल्यमा आएको निरन्तरको गिरावटले किसानमा निराशा छाएको छ। अदुवा खरिद गर्न स्थानीय व्यापारीले समेत आनाकानी गर्ने गरेका छन्।
भारतले अदुवा निकासी रोक्दा किसानले मूल्य पाउन नसकेको स्थानीय व्यापारी ज्ञानदेव घर्तीले बताए। भारतले निकासी खोल्दा किसानको अदुवाले मूल्य पाउने गरेको बताउँदै अर्को देशको भरमा पर्दा समस्या भएको उनको भनाई छ।
सल्यानमा यस वर्ष १ हजार ६७० हेक्टर क्षेत्रफलमा अदुवा लगाइएकोमा २७ हजार ४ सय ५० टन उत्पादन भएको छ । यो गत वर्षको उत्पादनभन्दा १ हजार १ सय १९ टनले रहेको कृषि विकास कार्यालयको तथ्यांक छ । पाँच वर्षको बिचमा सल्यान अदुवाखेती ४ सय २० हेक्टरले घटेको छ भने ९ सय ४२ मेटिक्टन अदुवाको उत्पादन घटेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत कुमार बस्नेतले जानकारी दिनु भयो ।
जिल्लाबाट वार्षिक २१ हजार ६८ मेटिक्टन अदुवा जिल्ला बाहिर निकासी हुँदा ३७ करोड ९२ लाख २४ हजार रुपैयाँ भित्रिए पनि बजारीकरणको अभावका कारण उत्पादन घट्दै गइरहेको उहाँको भनाई छ । जिल्लाबाट हालसम्म ५० प्रतिशत पनि अदुवा निकासी नभएको कार्यालयले जनाएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।