|

सल्यानः १०औँ गणतन्त्र दिवसको अवसरमा सल्यानका आठ जना कैदीबन्दीलाई सोमबार एकैसाथ कैदमुक्त गरिएको छ।

कारागारमा कैदीबन्दीको जीवन बिताइरहेका छ जना पुरुष र दुई जना महिला गरी जम्मा आठ जनालाई कैदमुक्त गरिएको सल्यान जिल्ला कारागारका जेलर विक्रम केसीले जानकारी दिए। ती कैदीबन्दीहरूले कारागारमा रहेको समयमा अनुशासित, मर्यादित तथा सभ्य आचरण गरेकाले उनीहरूलाई गणतन्त्र दिवसको अवसरमा कैदमुक्त गरिएको उनले बताए।

गणतन्त्र दिवसको अवसर पारेर कैदीहरूले भोग्न बाँकी ६० प्रतिशत सजाय माफी दिँदै उनीहरूलाई कैदमुक्त गरिएको हो। यसरी कैदमुक्त हुनेमा रुकुमकी एक जना महिला र बाँकी सात जना सल्यानका रहेका छन्।

सल्यानका कर्तव्य ज्यानको सजाय भोगिरहेका लीला कामी, ज्यान मार्ने उद्योगअन्तर्गत सजाय पाएका कमल बुढाथोकी, कर्तव्य ज्यानको सजाय भोगिरहेका दुइ जना शूरवीर बुढा र जुद्धवीर बुढा रहेका छन्।

कर्तव्य ज्यानको सजाय भोगिरहेका सल्यानकै टेकबहादुर बुढामगर, बहुविवाहको सजाय भोगिरहेका वीरबहादुर बोहरा, कर्तव्य ज्यानको सजाय भोगिरहेकी डल्ली कामी र रुकुमकी पवी खत्री कैदमुक्त भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.