पर्सा : गुरु र चेलाको सम्बन्ध पवित्र हुन्छ भन्ने मान्यता छ। तर, पर्साको वीरगञ्ज महानगरपालिका २५ खल्वा टोलमा रहेको श्री गुरुकुल पन्ना मेमोरिलय इंग्लिस.बोर्डिङ स्कुलका भाइस प्रिन्सिपल दिलिपकुमार पटेलको हकमा भने त्यो कुरा मिथ्या सावित भएको छ।
उनी आफ्नै विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्र १४ वर्षीय निरजकुमार पासवानको हत्यामा संलग्न रहेको घटना सार्वजनिक भएको हो। शिक्षक पटेलसहित घटनामा संलग्न वीरगञ्ज महानगरपालिका–१७ अलौका २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादवलाई समेत पक्राउ गरी बुधबार पर्सा प्रहरीले सार्वजनिक गरेपछि वास्तविकता बाहिर आएको हो।
पक्राउ परेका शिक्षक ३० वर्षीय पटेल धोबिनी गाउँपालिका १ घोडदौड पिप्राका हुन्। अपहरणपछि हत्या गरिएका विद्यार्थी निरज वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया खल्वा टोलका श्रीराम हजारा दुसादकाछोरा हुन्।
उनी गत मंसिर ५ गतेबाट सम्पर्कविहिन भएका थिए। मंसिर ६ गते निरजका बुबा दुसादले छोरो हराएको उजुरी प्रहरीमा दर्ता गराएपछि उनको खोजीमा प्रहरी खटिएको थियो। बालक बेपत्ता भएको १२ दिनपछि अपरिचित नम्बरबाट ५० लाख फिरौती रकम माग भएको कुरा परिवारले प्रहरीलाई जानकारी गराएका थिए।
लगत्तै प्रहरीले अनुसन्धान गर्दै जाँदा बालकको शव एक महिना पाँच दिनपछि पुस १० गते बेलुका फेला पारेको थियो। शव वीरगञ्ज–२५ सिर्सिया खल्वाटोलास्थित गुरुकुल स्कुलकै पुरानो भवन अगाडि शौचालयको सेप्टिक ट्यांकीभित्र गाडेको अवस्थामा फेला परेको थियो।
पैसाकै लागि अपहरण गरिएका बालकलाई घटना सार्वजनिक हुने भयले अपहरणलगत्तै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए। अभियुक्तहरूले फिरौती रकम माग गर्नुपूर्व नै बालकको हत्या गरिसकेको अनुसन्धानबाट खुलेको छ। बालकको हत्या गरिसकेपछि उनीहरूले परिवारसँग फिरौती रकम मागेका थिए।
अभियुक्तद्वयसँग मृतकको निलो रंगको जिन्स पाइन्ट, खैरो रंगको पेटी र मोबाइलको डिटेलबाट घटनाको वास्तविकता पत्ता लागेको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्तहरूलाई शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी कसुरको मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान बढाएको छ। घटनामा सलग्न अर्का एक व्यक्तिको पनि खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।