|

पर्सा : आर्थिक नगरीका विभिन्न ट्रान्सपोर्टबाट मध्यरातमा बिल विजकबिना अवैध तरिकाले विभिन्न सामग्री गन्तव्यतर्फ पठाउने गरेको रहस्य खुलासा भएको छ। 

पर्सा प्रहरीले तीन दिनको अन्तरालमा बिल विजकबिनाको १ करोड ४९ लाख ३३ हजार ५ सय ४६ रुपैया मूल्य बराबरको सामान बोकेर गन्तव्यका लागि हिडेका ट्रकहरु पक्राउ गरेपछि मध्यरातको समयमा अवैध तरिकाले ट्रान्सपोर्टहरुले गन्तव्य तर्फ सामान पठाउने गरेको रहस्य खुलेको हो।

ती मालबस्तुहरु ना ६ ख ६६६७ नम्बरको मालवाहक सवारी ( ट्रक ) र प्र.२–०३–००१ ख ३६९४ नम्बरका ट्रकमा गन्तव्य तर्फ पठाइएको समयमा मध्यरातको २ र १ बजे प्रहरीले नियन्त्रणमा लिएको छ। 
दुवै मालवाहक ट्रकमा कुल १ करोड ४९ लाख ३३ हजार ५ सय ४६ रुपैया बराबरको बिल विजकबिनाको सामान बरामद भएको पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए। 

ना ६ ख ६६६७ नम्बरको ट्रकमा ९४ लाख २१ हजार १५ रुपैया र प्र.२–०३–००१ ख ३६९४ नम्बरको ट्रकमा ५५ लाख १२ हजार ५ सय ३१ रुपैयाको सामान विना बिल विजकको फेला परेको उनको भनाइ छ। 
सुरक्षाकर्मी र आम मानिसको चहलपहल समेत नहुने मध्यरातको समयमा वीरगन्जबाट बाँके र कास्कीका लागि ती मालवाहक सवारी छुटेको पर्सा प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले पक्राउ गरेका मालवाहक ट्रकहरु मध्ये ना ६ ख ६६६७ नम्बरको मालवाहक  ट्रक नेपाल रोड क्यारियर ट्रान्सपोर्टको र प्र.२–०३–००१ ख ३६९४ नम्बरको ट्रक नमस्ते कार्गो ट्रान्सपोर्टबाट पठाइएको पर्साका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक गिरीले बताए।

नाा ६ ख ६६६७ नम्बरको मालवाहक सवारी ( ट्रक ) गएको शनिबार राती २ बजे नियन्त्रणमा लिएको थियो। मध्य रातमा यस्ता मालबस्तु गन्तव्य तर्फ पठाइने हो कि भनी निगरानी बढाउँदा सोमबार राति १ बजे फेरि सोही प्रकृतिको अर्को मालवाहक सवारी पनि फेला परेको पर्सा प्रहरीले जनाएको छ। शंकास्पद समयमा वीरगन्जको मुख्य बजारबाट निस्कदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा बिल विजक नै शंकास्पद फेला परेपछि ती सवारी नियन्त्रणमा लिई चेकजाँच गर्दा कैफियत फेला परेको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले बताए । प्रहरीको अनुसन्धानका क्रममा ती मालवाहक सवारीमा खुद्रा सामान, हार्डवेयर तथा औषधीजन्य सामग्री लोड गरेको भेटिएको उनको भनाइ छ।

वीरगन्जको मुटु मानिने वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर चोकबाट पहिलो एउटा ट्रक नियन्त्रणमा परेको तीन दिन कट्न नपाउँदै वीरगन्जको व्यापारिक केन्द्र आदर्शनगर चोकबाट नै अर्को पनि मालवाहक सवारी नियन्त्रणमा पर्नुले अवैध आर्थिक गतिविधि पनि आर्थिक नगरीको मुटुबाट हुने गरेको रहस्य पनि खुलेको प्रहरीले जनाएको छ। यस्ता हर्कतले आम नीजि क्षेत्रको छवि धुमिल हुन सक्ने वैध व्यापार गर्ने व्यापारीको तर्क छ। 

प्रहरीले चेकजाँच गर्दा कैफियत फेला परेका मालवाहक सवारीलाई थप कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी नायव उपरिक्षक गिरीले बताए। 

मध्य तराईमा हुस्से समेत लाग्न थालेको अवस्थामा मध्यरातमा सवारी छुट्नु शंकाजनक हुन्छ । यो कुरालाई प्रहरीले निगरानी गर्दा बजार क्षेत्रबाटै विना बिलका मालबस्तु ढुवानी हुँदै गरेको पाइएको प्रहरीको तर्क छ।

खुल्ला सीमानाको कारण भन्सार र ग्रामिण क्षेत्रबाट पनि यो मौसममा चोरी पैठारी र ढुवानी हुन सक्ने कुरालाई प्रहरीले चनाखो भई नियाली रहेको पनि पर्साका प्रहरी उपरिक्षक शाहले तर्क गरे। 

वीरगन्जका ट्रान्सपोर्टहरुबाट छुटेका सवारीमा यस्तो कैफियत फेला परेको यो पहिलो घटना भने होइन । योभन्दा पहिले पनि सुरक्षाकर्मीको आँखा छली गलत ढंगले मालबस्तु ढुवानी हुने गरेको फेला पर्दै आएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.