|

बनेपा : जनआन्दोलनका क्रममा घाइते भई अहिलेसम्म अचेत अवस्थामा रहेका मुकेश कायस्थको घरमा नवनिर्वाचित प्रतिनिधिले गणतन्त्र दिवस मनाएका छन्।

२०६२ चैत २७ गते काभ्रेको बनेपास्थित तीन दोबाटोमा प्रतिगमनविरुद्ध आन्दोलनमा सहभागी मुकेशलाई प्रदर्शनका क्रममा कन्चटमा गोली लागेको थियो। घाइते उनी अहिलेसम्म पनि अचेत अवस्थामै छन्।

गणतन्त्र दिवसको अवसर पारेर सोमबार प्रमुख जिल्ला अधिकारी शिव सिंखडालगायत स्थानीय तहका नवनिर्वाचित मेयर, उपमेयर र वडाअध्यक्षको समूह नै मुकेशलाई सम्मान गर्न उनको घर पुगेको थियो। १२ वर्षसम्म अचेत अवस्थामा ओछ्यान परेका मुकेशलाई गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान रहेको भन्दै सम्मानपत्र प्रदान गरियो। उक्त अवसरमा मुकेशको घरमा दीपावली पनि गरिएको थियो।

जिउँदा शहीद मुकेशको घरमा उनीबारे बुझ्न र जानकारी लिन आउनेको भीड अरुबेला पनि लाग्छ। पत्रकार, राजनीतिक दलका कार्यकर्तादेखि सामाजिक संघसंस्थाका प्रतिनिधिको घुइँचो लाग्छ। छोराको अवस्थाबारे जानकारी गराउँदा आमा मीराको आँसु थामिँदैन। ‘मुकेशसँग उसका साथीहरू अहिले लेखपढ गरी जागिर खान थालेका छन् तर उसको भने होससमेत आएको छैन’, मीराले भनिन्, ‘त्यो बेला आन्दोलनमा नगएको भए ऊ पनि अरुजस्तै जागिर खान्थ्यो होला।’ 

आमा मीराले छोराको विगत सम्झिँदै भनिन्, ‘हरेक दिन मुहेश भनेर बोलाउँछु तर उसको स्वरसमेत सुन्न पाएको छैन।’ पहिला पूर्ण रूपमा बेहोश भए पनि अहिले आफ्नै सुरमा हाँस्ने, रुने गर्न थालेकाले परिवामा थोरै आशा भने पलाएको छ। उपचारपछि हल्का मुण्टो हल्लाउने मुकेशले अहिले देब्रे हात अलिअलि चलाउन थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.