|

विराटनगर : सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गतेका लागि सार्नु आफूहरूलाई निर्वाचनमा सहभागी नहुनु भन्ने सन्देश दिएको भन्दै मोरङका मुस्लिम समुदायले कडा आपत्ति जनाएका छन्। गणतन्त्र दिवसको अवसरमा मोरङ मुस्लिम समाजले ‘गणतन्त्रमा हाम्रो अधिकार खोई?’ प्रश्नसहित विराटनगरमा गरेको प्रदर्शनमा यस्तो आपत्ति जनाएका हुन्।

असार ९ गते शुक्रबार मुस्लिम समुदायको रमजान ३ सय ६५ दिनकै अन्तिम शुक्रबारको रुपमा लिने र उक्त दिन सानो इद अलवदा परेको छ।

सो दिन इस्लाम धर्मावलम्बीहरूले विशेष प्रार्थना र धार्मिक गतिविधिमा सहभागी हुने गरेका छन्। ‘मुस्लिम समुदायले जेठ ३१ को चुनाव नै सार्नुपर्ने माग गरिरहेको थियो,’ मुस्लिम समाज मोरङका अध्यक्ष सलिम अन्सारीले भने, ‘अझै महत्वपूर्ण दिन सानो इद अलविदाको दिन चुनाव गर्ने निर्णय गरेर सरकारले मुस्लिम समुदाको अपमान गरेको छ।’

उनीहरुले सरकारले निर्णय पुनर्विचार नगरे निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन्। ‘गणतन्त्रकै दिन सरकारले मुस्लिम समुदायको भावनामा चोट पर्ने गरी निर्णय गर्‍यो,’ मुस्लिम समाज मोरङका प्रवक्ता वसिम आलमले भने, ‘हामी चाहेर पनि उक्त दिन भोट हाल्न जान सक्दैनौं।’

यता, नेकपा माओवादी केन्द्र विराटनगर ६ नम्बर वडाका उम्मेद्वारसमेत रहेका रजी अहम्मद अन्सारीले निर्णयमा पुनर्विचार नभए पार्टीबाटै राजीनामा दिने र चुनाव बहिष्कारमा लाग्ने बताए। ‘हामी मुस्लिमको पहिचानमाथि प्रहार भएको छ, हामीलाई सुनिएको छैन, एउटा अन्याय छोप्न अर्को ठूलो अन्याय भयो,’ उनले भने, ‘निर्णयमाथि पुनर्विचार नभए हामी मुस्लिमहरु पार्टीबाटै सामूहिक राजीनामा दिन्छौं।’

यता, माओवादी केन्द्रकै अर्का नेता मोहम्मद मन्सुर आलमले सरकारले गलत निर्णय गरेको कारण आफूहरुले निर्वाचन बहिष्कार गर्नुपर्ने अवस्था आएको बताए। सरकारले पुनः निर्णय सच्याउँदै चुनावको मिति फेरि सार्नुपर्नेमा उनीहरुले जोड दिएका छन्। मुस्लिम अगुवा तथा कांग्रेसका स्थानीय नेता साहव अहम्मद गुड्डुले असार ९ गते निर्वाचन गर्ने सरकारी निर्णयको विरोध गर्ने बताए। उनले सोही मितिमा निर्वाचन भए कोही पनि मुस्लिम समुदायका मानिसले चुनावमा भाग लिन नसक्ने बताए।

रमजानको नियमित नवाज प्रार्थनापछि बाहुलामा कालो पट्टी बांधेर बुधहाटचोकस्थित मस्जिद अगाडिको सडकमा सोमबार भएको प्रदर्शनमा सहभागीहरुले ‘गणतन्त्रलाई हामी सम्मान गर्छौं, तर हाम्रो अधिकार खोई?, इदको दिनमा पारिएको कक्षा ११ को परीक्षा सारौं र विराटनगरलाई महानगरपालिका घोषणा गरलगायतका प्लेड कार्ड बोकेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.