|

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नभए चुनावमा नजाने भने पनि जिल्लामा अन्य दलहरु उम्मेदवार छनोटमा व्यस्त छन्। असार ९ गतेका लागि तोकिएको स्थानीय तह चुनावको लागि जनकपुर सहित धनुषाका अन्य स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन दलहरुभित्र रस्साकस्सी भइरहेको छ।

महन्थ ठाकुर नेतृत्वमा राष्ट्रिय जनता पार्टी नेपाल आन्दोलनमा रहेको तथा निर्वाचनमा भाग नलिने बताउँदै आएको समयमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राप्रपा लगायतका दलहरु उम्मेदवारको आकांक्षी व्यवस्थापन गर्न लागिरहेका छन्।

धनुषामा आन्दोलनमा उत्रेको राजपा बाहेकका सबै दलहरु वडादेखि नगरसम्मको उम्मेदवार छनोट गर्न दिनरात छलफलमा व्यस्त छन्। धनुषाका १ उप–महानगरपालिका, ११ वटा नगरपालिका र ६ गाउँपालिकामा हालसम्म कुनै पनि पार्टीले उम्मेदवारको टुंगो लगाउन सकेको छैन।

नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रले वडास्तरमा उम्मेदवारको टुंगो लगाइसकेको दावी गरे पनि औपचारिकता दिइएको छैन। नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा तथा रामचन्द्र पौडेल गुट केन्द्रदेखि वडासम्म देखिएकाले आकांक्षीलाई व्यवस्थापन गर्न समस्या देखिएको छ। कांग्रेसले आगामी जेठ १७ गते उम्मेदवार अन्तिम टुङ्गो लगाउने कांग्रेस धनुषाका सचिव कोमलकान्त झाले जानकारी दिए।

कुनै गुट–उपगुट र काखापाखा विना उम्मेदवार टुंगो लगाउन आफूहरु लागि परेको उनले बताए। नेकपा एमालेले धेरै वडाहरुमा उम्मेदवार निर्विरोध चयन गरिसकेको छ। स्थानीय स्तरमा अझै छलफल जारी रहेकोले केही दिनभित्रै टुंगो लाग्ने एमालेका एक नेताले बताए।

यस्तै नेकपा माओवादी केन्द्रले धनुषाको ६० प्रतिशत वडाहरुमा उम्मेदवारको टुंगो लागि सकेको दावी गरे पनि हालसम्म सार्वजनिक गर्न सकेको छैन। स्थानीय तहमा आकांक्षीहरु बढी भएकाले केही दिन अझै लाग्ने पोलिटव्युरो सदस्य रामचन्द्र मण्डलले बताए।

पहिलो चरणको चुनावमा समेत सहभागी भएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम दोस्रो चरणको चुनावको पनि तयारीमा लागेको छ। उम्मेदवारको १७ गतेसम्म टुंगो लगाउन सक्ने जिल्ला नेता शेषनारायण यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.