|

कञ्चनपुर : डडेल्धृुराको परशुराम नगरपालिका-८ जमडानीकी जानकी धामीका १३ महिने छोरा मिन्सको मुखबाट एक महिनाअघि एकाएक फिँज निस्कन थाल्यो। दुई वर्षअघि विवाह भएकी धामी छोराको मुखबाट फिँज निस्केपछि उपचार गराउन महाकाली प्रादेशिक अस्पताल आइन्।

अस्पतालमा शिशुको तौल बढेको, उमेरभन्दा पुड्को देखिएको र हर्मोनमा गडबडी देखिएपछि उनलाई पोषण पुनःस्थापना गृहमा रिफर गरियो। त्यसयता उनी एक महिनादेखि छोरासित त्यहाँ बसेकी छन्। पोषण पुनःस्थापना गृहबाट डिस्चार्ज भएपछि उनी छोरालाई लिएर घर फर्किने बताउँछिन्।

‘मुखबाट फिँज निकालेपछि अस्पताल ल्याएकी हुँ, अस्पतालबाट यता पठाइयो। अहिले ३० दिन जति भयो‚’ उनले भनिन्, ‘अहिले त पहिलाभन्दा धेरै ठीक भइसक्यो, मैले पनि यता बसेर खानपिन र सरसफाइसम्बन्धी धेरै कुरा सिकेँ।’

गृहमा अहिले मिन्ससहित ८ जना बालबालिका भर्ना छन्। हालसम्म २ हजार १४२ जना बालबालिका यहाँबाट ठीक भएर घर फर्किएका छन्। २ हजार १५० बालबालिका गृहमा भर्ना भएर पोषण उपचार गराइसकेका छन्।

‘यो पुनःस्थापना गृह सञ्चालनमा आएदेखि २१ सय ५० बालबालिका हामीकहाँ आएका छन्, तीमध्ये २ हजार १४२ निको भएर घर फर्किएका छन्‚’ पोषण पुनस्थापना गृहकी प्रबन्धक इन्द्रा भट्टले भनिन्, ‘८ जना उपचारका लागि भर्ना नै छैन, उपचार सकिएपछि उनीहरू पनि जान्छन्, नयाँ बालबालिका थपिँदै जान्छन्।’

महाकाली प्रादेशिक अस्पतालमातहतको पोषण पुनःस्थापना गृह कुपोषित बालबालिकालाई पुनःजीवन दिने र अभिभावकहरूलाई स्वास्थ्यबारे जानकारी दिन १६ वर्षअघि सञ्चालन गरिएको थियो।

गैरसरकारी संस्था रुडुकले नेपाल युथ फाउण्डेशनको सहयोगमा तत्कालीन महाकाली अञ्चल अस्पतालसँग सहकार्य गरी २०६३ सालमा पोषण पुनःस्थापना गृह सञ्चालन गरेको थियो। संस्थाले ५ वर्ष सञ्चालन गरेपछि २०६८ सालमा महाकाली अस्पताललाई हस्तान्तरण गरेको थियो।

‘कुपोषित बालबालिकाकालाई पुनः जीवन दिन र उनीहरूका अभिभावकलाई स्वास्थ्य शिक्षा दिन २०६३ सालमा रुडुकले अस्पतालसित सहकार्य गरी पोषण पुनःस्थापना गृह सञ्चालन गरेको थियो। ५ वर्ष संस्थाले नै चलाएपछि २०६८ मा अस्पताललाई हस्तान्तरण गरिएको हो‚’ प्रबन्धक भट्टले भनिन्, ‘अहिले यसको सबै खर्च सरकारले बेहोर्छ, त्यसकारण बच्चा र आमा अभिभावकले केही पनि शुल्क तिर्नु पर्दैन।’

गृहमा भर्ना भएका सबै बालबालिकाले पुनः जीवन पाएकोमा प्रबन्धक भट्टले खुशी व्यक्त गरिन्। ‘अहिले हामी १६ वर्ष पूरा गरी १७ औं वर्षमा जाँदैछौ, यदि यो गृह हुँदा यी २ हजारले पुनः जीवन पाएका छन्। कुपोषणले गर्दा मर्थे, निको भएर गए।’

गृहले १७ औं वर्ष प्रवेशका अवसरमा पुस अन्तिम साता गर्ने कार्यक्रममा उपचार गरिएका बालबालिकालाई समेत निम्त्याउने तयारी गरेको छ। ‘शुरुको वर्ष २०६३ मा भर्ना भएको एकजना भाइ १२ मा पढ्छ, सम्पर्क भएको छ। अरु त सबै सम्पर्कमा छैनन्‚’ उनले भनिन्, ‘सम्पर्कमा भए जतिलाई आमन्त्रण गर्ने सोचाइमा छौं।’

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार गृहमा कुपोषित बालबालिकालाई भर्ना गरी उपचारपछि घर पठाउने गरिएको छ। भर्ना भएका ५ वर्षमुनिका बालबालिका र तिनका अभिभावकलाई मापदण्डअनुसार ३५ दिनसम्म निःशुल्क रुपमा गृहमा राख्ने गरिएको छ। त्यसरी राखिएका बच्चालाई गृहमा पोषिलो खानेकुरा खुवाउने र आवश्यकताअनुसार उपचार गर्ने गरिएको छ।

‘डब्लुएचओको मापदण्डअनुसार बच्चालाई दिन्छौं, उमेर अनुसारको तौल, उचाइलगायत हेरिन्छन्। जस्तो एक वर्षको बच्चाको तौल १० किलो नभए त्यो मापदण्डअनुसार कुपोषित हुन्छ, १० किलोभन्दा तल तौल हुने बच्चा यसमा पर्छन्‚’ प्रबन्धक भट्टले भनिन्, ‘आमा र बच्चा दुवैलाई निःशुल्क राखिने हो, बच्चालाई पोषिलो खानेकुरा खुवाउँछौं। त्यसमा दैनिक दूध, अण्डा र हप्तामा एक पटक मासुलगायत पोषिला खानेकुरा खुवाउँछौं।’

प्रबन्धक भट्टका अनुसार ६ महिनाभन्दा कम उमेरका बालबालिकालाई दैनिक दूध र त्योभन्दा माथिकालाई ६० प्रतिशत दूध र ४० प्रतिशत मासु खुवाउने गरिएको छ। त्यसबाहेक २ देखि ३ घण्टाको अन्तरमा खाना खुवाउने गरिएको उनी बताउँछिन्।

पोषण गृहमा हालसम्म कडा र मध्यम दुवै खालका कुपोषण भएका बालबालिका भर्ना भएका छन्। उनीहरूमध्ये कडा खालको कुपोषण भएका बालबालिकालाई विशेष निगरानीमा राखिने गरिएको छ। उनीहरूको उपचार चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा हुने गरेको छ।

पोषण गृहमा १० शय्या छन्। प्रबन्धक भट्ट कहिलेकाहीँ सबै शय्या भरिएर ठाउँ नपुग्ने समस्या आउने गरेको बताउँछिन्। ‘१० बेड छन्, कहिलेकाहीँ ती सबै भरिएपछि अप्ठेरो नि हुन्छ। बेड नपुग्दा अरु व्यवस्था गर्नुपर्छ‚’ उनले भनिन्, ‘रिफर भएका फर्केर आउन सक्छन्।’

पोषण गृहमा भर्ना गरिएका बालबालिकाका घर परिवारका सदस्य पनि दैनिक रुपमा सोधपुछका लागि आउने गरेका छन्। दैनिक त्यसरी आउने ६/७ जनालाई परामर्श दिएर फर्काउने गरिएको उनी बताउँछिन्।

पोषण गृहमा प्रबन्धक भट्टसहित ९ जना कर्मचारी छन्। त्यसमा ४ जना नर्स अनमी र ३ जना कुक छन्। बालबालिकाको उपचार महाकाली अस्पतालका चिकित्सकले गर्दै आएका छन्।

कोरोना महामारीका वेला ६ महिना पोषण गृह बन्द भएको थियो। त्यसबाहेक अहिलेसम्म निरन्तर सेवा दिइरहेको छ। ‘त्यो वेला यसै भवनमा कोरोना उपचारका लागि कोरोना वार्ड बनाइयो। त्यो वेला मात्रै बन्द भयो, अरु वेला त कहिले पनि भएको छैन‚’ प्रबन्धक भट्ट भन्छिन्।

पोषण गृहले कुपोषित बालबालिकालाई गृहसम्म ल्याउन सार्वजनिक सूचना प्रवाह र स्वास्थ्यकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिसित समन्वय गर्दै आएको छ। डडेल्धुराको परशुराम नगरपालिकाकी जानकी धामीले पनि सार्वजनिक रुपमा प्रवाह गरिएको सूचनाबाट आफूले पोषण गृहबारे थाहा पाएको बताइन्।

केन्द्रकी प्रबन्धक भट्ट उमेरमा बिहे र अभिभावकले बालबालिकाको खानपिनमा ध्यान नदिँदा कुपोषणको समस्या बढी देखिएको बताउँछिन्। ‘सानै उमेरमा बिहे, जसका कारण बच्चा नजन्मिदै पेटभित्रै कुपोषित हुने गर्छन्। अर्को कुरा खानपिनमा ध्यान दिएको पाइँदैन‚’ उनी भन्छिन्, ‘गरिबी पनि एउटा कारण हो तर त्यो थोरै मात्र छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.