|

लहान : स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सिरहामा मुख्य दलहरु उम्मेदवार छनोटमा व्यवस्त छन्। चुनावको मिति सरेकाले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सिरहाका सबै स्थानीय तहका वडाध्यक्षहरुको नाम टुङ्ग्याएर प्रमुख उपप्रमुखको नाम टुङ्ग्याउँदै छन् भने नेकपा एमालेले दुईबाहेक सबैमा प्रमुख पदका लागि उम्मेदवार तय गरेको छ।

वार्ड टुंग्याएर प्रमुख छान्छौं : कांग्रेस

नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले आफ्नो पार्टी अहिले सिरहाका सबै स्थानीय तहका वार्डमा पार्टीको  उम्मेदवार बन्नेहरुको नामावलीको विषयमा छलफल गरिरहेको बताए। सभापति यादवका अनुसार गोलबजार नगरपालिकाको प्रमुख पदमा लालबाबु साहबाहेक अन्य नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुखको नामको विषयमा छलफल चलिरहेको छ।

सिरहाको गोलबजार नगरपालिकाको १०, धनगढीमाईको ८, सुखीपुरको ६ र मिर्चैयाको ९ वटा वडाध्यक्ष पदका उम्मेदवारहरुको नाम टुंग्याइएको सभापति यादवले बताए।

दुईबाहेक सबैमा टुंग्यायौं : एमाले

नेकपा एमालेको प्रदेश कमिटीले सिरहाको धनगढीमाई नगरपालिका र बरियारपट्टि गाउँपालिका बाहेक ६ नगर र ९ गाउँपालिकाका प्रमुख उम्मेदवार चयन गरेको हो। प्रदेश कमिटीले लहान नगरपालिकामा प्रमुख मुनि साह, गोलबजार नगारपालिकामा श्याम श्रेष्ठ, मिर्चैया नगरपालिकामा प्रदीप महासेठ र सुखीपुर नगरपालिकामा रामअवतार यादव, कल्याणपुर नगरपालिकामा रामपुकार साह र सिरहा नगरपालिकामा डा. नवीन यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला उपसचिव तथा जिल्ला प्रचार विभाग प्रमुख अशोक यादवले बताए।

यादवका अनुसार धनगढीमाई नगरपालिका र बरियारपट्टि गाउँपालिकाको हकमा भने प्रदेश कमिटीले गठन गरेको विशेष टोलीले चाँडै निक्र्योल गर्नेछ।

एमालेले सखुवानन्कारकट्टीमा केदारनाथ यादव, भगवानपुरमा उग्रनारायण यादव, लक्ष्मीपुरपतारीमा देवनारायण साह, नवराजपुरमा सुरेन्द्र यादव, अर्नमामा चन्देश्वर मण्डल अध्यक्षलाई  उम्मेदवार चयन गरेको छ।

त्यस्तै, विष्णुपुर गाउँपालिकाको लागि सत्यनारायण यादव, कर्जन्हामा रामदयाल महतो, नहरामा रामशरण यादव र औरही गाउँपालिकाका लागि शुभरण यादवलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको प्रचार विभाग प्रमुख यादवले बताए। 

माओवादीको एक नगर र एक गाउँपालिकामा मात्र टुंगियो

नेकपा माओवादी केन्द्रले लहान नगारपालिकाको प्रमुखमा खडकनारायण चौधरी र औरही गाउँपालिका अध्यक्षमा भोलाप्रसाद यादवलाई प्रमुख पदमा उठाउने निर्णय गरेको बाहेक अन्य स्थानीय तहको विषयमा छलफल भइरहेको जनाएको छ।

माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य सीता पोखरेलका अनुसार अहिले मिर्चैयामा बसिरहेको जिल्ला निर्वाचन परिचालन समितिको बैठकले जिल्लाका सबै स्थानीय तहका वडाध्यक्ष पदका उम्मेदवारहरुको नाम तय गरी एक/दुई दिनभित्र प्रमुख उपप्रमुखको नमा टुङ्ग्याइँदै छ।

मधेसकेन्द्रित दलहरु पर्ख र हेरको नीतिमा

जिल्लामा मधेसकेन्द्रित दलहरुले भने अन्य दलबाट उठ्ने वा टिकट नपाएर बागी उठ्न सक्ने व्यक्तिहरुलाई हेरेर मात्र आफ्नो उम्मेदवार तय गर्ने रणनीतिमा रहेको बुझिएको छ।

‘पार्टीमा धेरै आकांक्षी रहेको र टिकट नपाएको झोंकमा विरोधी कित्तामा राखिएका दलबाट नै उठ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवार छनौटको विषयमा गहन छलफल गरिरहेका छौं’ संघीय समाजवादी फोरम नेपालका एक नेताले बताए। सिरहाको सात नगरपालिका र १० गाउँपालिकामा ३ लाख ३१ हजार ५ सय ९६ मतदाता रहेका। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.