|

अफगानिस्तानको राजधानी काबुलमा गराइएको बम विस्फोटमा ८० जना मारिएका छन्। जर्मन दुतावास नजिकै बुधबार बिहान गरिएको विस्फोटमा ३ सय ५० घाइते भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।

उक्त विस्फोट लरि वा पानी ट्यांकरमा विस्फोटक पदार्थ राखेर गरिएको हुनसक्ने बताइएको छ। बम विस्फोटका कारण काबुलको आकाशमा ठूलो मात्रामा कालो धुवा फैलिएको छ भने क्षतविक्षत भएका सवारी साधन यत्रतत्र छरिएका छन्। दुर्घटनास्थललाई सेना र प्रहरीले नियन्त्रणमा लिएको छ। बम विस्फोटले १ सय मिटर वरपरका घरमा क्षति भएको बताइएको छ।

विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। काबुलमा भएका पछिल्ला बम विस्फोटमा तालिवान र आइएसको संलग्नता रहेकोले यसमा पनि उनीहरुको संलग्नता रहेको आशंका गरिएको छ।

बुधबार बिहान गराइएको विस्फोटमा मर्नेको संख्या बढ्न सक्ने अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता स्माइल कवसीले भने, 'अहिलेसम्म पनि मृत्यु भएकाको शव संकलन गरिरहेका छन् भने घाइतेलाई अस्पताल भर्ना गरिदैछ।'

काबुल प्रहरीका प्रवक्ता बसिर मुजाहिदले जर्मन दूतावास नजिकै विस्फोट गरिएपनि कसलाई निशाना बनाएर विस्फोट गरिएको भन्ने खुल्न नसकेको बताए। विस्फोट भएको क्षेत्रमा राष्ट्रपति भवन, विदेशी दूतावास रहेका छन्। ३ मिटर अग्ला बम प्रतिरोधक पर्खाल भएकोले सुरक्षित क्षेत्रका रुपमा लिइने गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.