|

काठमाडौँ: सहरीकरणको आकर्षणमा गाउँका युवा सहर सर्ने क्रम बढ्दो छ। त्यस्तै बढ्दो विश्वव्यापीकरणको लहरमा देशको सिमाना पार गरी उतै घरजम गर्ने युवाको संख्या पनि व्यापक बन्दै छ। यसको परिणाम गाउँघरमा होस् वा सहरमा, वृद्धवृद्धा घरमूली भएर बसेका पाइन्छन्। उनीहरू न त गाउँबाट छोराछोरीसँगै सहर पस्न चाहन्छन्, न विदेशमा रहेका छोराबुहारीले आफूसँगै आउन गरेको आग्रह स्वीकार्छन्।

जीवनभरको पसिना र ऊर्जा लगाएर सुखदुःख कटाएको घर छोड्न मान्दैनन् उनीहरू। उनीहरूलाई जीवनको अन्तिममा सन्तानसँग बस्नभन्दा पनि निर्जीव वस्तुलाई ढुकेर बस्न केले तानेर राखेको हुन्छ र उनीहरू आधुनिक सुख सयलको जीवन जीउने अवसरलाई अस्वीकार गर्छन्?

माथिको प्रश्नको जवाफ सेताम्मे कपाल र दाह्री, कुप्रिन लागेको शरीर र लर्बरिने बोली भएको पात्रमार्फत् मञ्चन गरेका छन्, रंगकर्मी जोडी सुलक्षण भारती र सिर्जना अधिकारीले नाटक 'सलेदो'मार्फत्। सुलक्षण भारतीको लेखन र सिर्जना अधिकारीको निर्देशनमा मण्डला थिएटर नेपालमा मञ्चन भइरहेको नाटकमा दुवै प्रमुख भूमिकामा पनि देखिएका छन्। 'सलेदो'मा आफू बलेर अरूलाई उज्यालो दिने सलेदोझैँ हुर्काई बढाई पढाएका छोराबुहारी विदेश, बालककालका साथीसंगी पनि सात समुद्रपार र जीवनसंगीसँगको बिछोडका यादहरू बोकेर घर रुङिरहेका वृद्धको दैनिकी प्रस्तुत गरिएको छ।

वृद्ध जीवन (सुलक्षण भारती) घरका निर्जीव वस्तुसँग संवाद गरेर समय कटाइरहेका हुन्छन्। त्यतिबेला उनलाई विगतका याद दिलाउन आइपुग्छन्, जीवनका विद्यार्थी कवि रवि न्यौपाने (अंकित खड्का) आफ्नो किताब 'कविता' विमोचनको निम्तो बोकेर।

रविको निम्तोले जीवनलाई विगतमा फर्काइदिन्छ। उनी अहिलेको अवस्थासम्म आइपुग्दा दियोको तेलमा बलेर अरूलाई उज्यालो दिने सलेदोझैँ क-कसका लागि जलेछु भन्ने सम्झन्छन्। फ्ल्यासब्याकमा गएर उनी विद्यार्थीकालमा कविता (सृजना अधिकारी)लाई प्रेम प्रस्ताव राख्ने दिन सम्झन्छन्। बुढेसकालमा विदेश गएका स्कुले साथीहरू जिते र फुन्डेसँगका दिनहरू सम्झन्छन्। कवितासँगको वैवाहिक सम्बन्धले याद आउँछ। छोडी जानेका यादले समय कटाइरहेका हुन्छन्। उनी दिन काट्ने सहाराबारे भन्छन्, 'यादहरू छन्, सम्झनाहरू छन्, तस्वीरहरू छन्, क्षणहरू छन्।'

एक्लै घरका भित्तासँग कुराकानी गरेर काल पर्खिने तर सहर र देश छोडेर जान नमान्ने वृद्धवृद्धाका कुरा नाटकको मूल पाटो हो। घरका हरेक चिज उनीहरूको जीवनको प्रत्यक्षदर्शी बनेका हुन्छन्। जीवनले बोल्ने यो संवादले त्यही कुरा भन्छ, ’छोराबुहारी आए, लान खोजे, रोए कराए तर बुझ्दैनन् मुर्खहरू सम्बन्ध। सम्बन्धको महत्त्व हुन्छ हजुर! सम्बन्धको महत्त्व हुन्छ।' उनी युवाकालमा आफूले घरसँगको सम्बन्ध नबुझेको सम्झन्छन्, 'मैले मेरी आमालाई काठमाडौँ जाम् भन्दा किन मान्नुभएनछ भनेर म आज बुझ्दै छु।'

नाटकमा नेपाली समाजको विविधतालाई प्रस्तुत गरिएको छ। बाहुन जीवनले मंगोलिन कवितासँग विवाह गरेको हुन्छ। त्यस्तै उनीहरूको छोरो दोर्जेले नेवार केटीसँग विवाह गरेको छ। यसले नेपाली समाजको जातीय विविधतामा रहेको एकतालाई समेट्न खोजेको छ।

नाटकका प्रमुख पात्रको भूमिकामा सुलक्षण भारतीले राम्रो अभिनय गरेका छन्। जीवन दर्शनसँग सम्बन्ध राख्ने सबैजसो संवाद भारतीले नै बोलेका छन्। यसका लागि उनको आवाज परिपक्व लाग्छ, सुहाएको छ। त्यस्तै कलेज जाने युवती र पछि गएर कूटनीतिज्ञको अभिनयमा देखिएकी सृजना अधिकारीको पनि राम्रो अभिनय गरहेको छ। नाटकमा हास्यरस दिनका लागि ल्याएका पात्रहरूले पनि दर्शकलाई मनोरञ्जन दिन सफल देखिन्छन्।

सुलक्षण भारतीको अभिनय तारिफयोग्य त छ, तर नाटकको कथा विगतमा जाँदासमेत उनलाई वृद्ध अवस्थाकै वेशभूषामा देखाउँदा कुरा के हो भन्ने अलमलमा पार्छ। उनी वृद्ध अवस्थामा मञ्चमा प्रस्तुत हुन्छन् तर जब उनी फ्ल्यासब्याकमा जान्छन् त्यतिबेला पनि उनको वेशभूषा वृद्धावस्थाकै हुन्छ। कलेज पढ्ने केटी वृद्धा भइसक्छे, सानो छोरा ठूलो भएर विवाह गर्छ तर जतिबेला पनि भारती भने फुलेको कपाल र सेतो दाह्रीमै हुन्छन्। त्यस्तै भाडामा बस्ने केटाको अभिनय लामो छ। नाटकको भावअनुसार मञ्च निर्माण आकर्षक बनाउन सकेको छैन। प्रकाश संयोजन र पार्श्व गीतको प्रयोगमा थप प्रयोग नगरेको भान हुन्छ।

सम्पूर्ण जीवन लगाएर हुर्काएका सन्तान सात समुद्रपारिको रमझममा रहँदा घरमा एक्लै टोलाउने हाम्रै समाजका बुबा आमाको यथार्थ हो, नाटक सलेदो। यसले जीवनकालमा भोगेका कुराहरू घरका निर्जीव वस्तुमा खोज्दै काल पर्खने हाम्रै समाजका ज्येष्ठ नागरिकको यथार्थ बोकेको छ। नाटकले हामी बाँचिरहेको समाजको वास्तविकतालाई मञ्चमा उतारेको छ।

नाटक 'सलेदो' अनामनगरस्थित मण्डला थिएटरमा असार ४ गतेसम्म मञ्चन हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.