|

गोरखा : भूकम्पपछिको पुननिर्माणले गति लिन नसकेको स्विकार्दै पुननिर्माण प्राधिकरणका सिइओ गोविन्द पोखरेलले माफी मागेका छन्। शुक्रबार गोरखा जिल्लाका स्थानीय तहमा नवनिर्वाचित पदाधिकारीहरु र पुननिर्माण प्राधिकरणबीच अभिमुखीकरण तथा छलफल कार्यक्रममा भूकम्पपछिको पुननिर्माण गर्न ढिला भएको भन्दै पोखरेलले माफी मागेका हुन्।

‘भूकम्प गएको दुई वर्ष बितिसक्यो’ सिईओ पोखरेलले गोरखाका जनप्रतिनिधिहरुसँग भने ‘भूकम्पपछिको भौतिक पुननिर्माण गर्न हामी एक वर्ष ढिला भइसक्यौँ। म यहाँहरुसँग माफी माग्न चाहन्छु । अब यहाँहरुले प्राविधिक खटाउने, भूकम्प पिडितको गुनासो सुन्ने काम गरिदिनुस् । ठुला ठुला पुर्वाधार निर्माण हुने आयोजनाहरु मन्त्रालयले हेर्छ,' उनले थपे,'अब अरु साना आयोजना निर्माण गर्न, जनताको जिविकोपार्जनको अबस्था सुधार गर्न, भइरहेका कामहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने सबै काम तपाईहरुको हो। सहयोग गर्नुस्।'

जनप्रनितिनिहरुसँग उनले भूकम्पका कारण बस्ती नै स्थानान्तरण हुनुपर्ने बस्तीहरुबारे ठाउँ सिफारिस गर्न समेत आग्रह गरे। ‘केरौँजाका लागि कुन ठाउँमा स्थानान्तरण गर्ने भनेर अध्ययन गर्न टोली गठन भएर काम सुरु भइसकेको छ। केरौँजालाई पुनर्निर्माण प्राधिकरणले नै नमुना बस्ती निर्माण गर्नका लागि काम सुरु गरेको हो,’ उनले भने।

पोखरेलले भूकम्पपछि देशमा तीन वटा क्षेत्रको पुनर्निर्माण गर्नुपर्ने अवस्था देखिएको र पुनर्निर्माण प्राधिकरण जनप्रतिनिधिहरुको साथमा ती क्षेत्रको पुनर्निर्माण गर्न लागि परेको उल्लेख गरे। ‘देशमा आर्थिक पुनर्निर्माण ठुलो चुनौतीको रुपमा छ।

आर्थिक विकास नभएकै कारण हाम्रा युवा आज गाउँमा छैनन्,’ उनले भने ‘त्यसपछि भौतिक पुनर्निर्माण गर्नैपर्ने छ। अन्य क्षेत्रको पनि पुनर्निर्माण गर्नैपर्ने भएतापनि भौतिक पुनर्निर्माणलाई भूकम्पपछि पहिलो स्थानमा राख्नुपरेको छ र त्यही अनुसार काम भएको छ,' उनले भने,'यसमा देशको पैसाले मात्र पुग्दैन। विभिन्न दाताहरु सँग रकम जुटाइएको छ।'

पोखरेलले गाउँमा खटिएका प्राविधिकहरुको परिचालन, रेखदेख तथा कामको अनुगमनको गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन्। अब खानेपानी आयोजना, साना सिंचाई आयोजनाहरु स्थानीय तहले निर्माण गर्ने उनले बताए।

पोखरेलले धुर्मुस सुन्तलीको प्रशंसा गर्दै पुननिर्माणबारे भने ‘यहाँ कतिलाई थाहा रहेनछ । धुर्मुस सुन्तलीको मोडलमा पुनर्निर्माण गरौँ । उनीहरुले बनाएको घरमा बार्दली छ। पुराना घरहरु जस्तै कौसी छ। आकर्षक छ,’ उनले भने।

एकिकृत बस्ती निर्माण सम्बन्धमा पोखरेलले भने ‘त्यस्तो बस्ती बनाउन सबैले जनतालाई प्रेरित गरौँ। त्यसरी बस्ती निर्माण गर्न कोही जनप्रतिनिधिले निर्णय गराएर प्राधिकरणमा ल्याउँछ भने पुननिर्माण प्राधिकरणले त्यस बस्तीमा बाटोघाटो, बिजुली, खानेपानी लगायत अरु सामाजिक पूर्वाधार सबै बनाई दिन्छ।’

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य हरिराम पराजुलीले गाउँमा काम गर्छु भनेर आएका इन्जीनियरलाई काममा लगाउन र खबरदारी गर्न जनप्रतिनिधिलाई आग्रह गरे।  कार्यक्रममा जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.