|
फाइल फोटो

काठमाडौं : नेपालको राउटे समुदाय जो अहिले पनि जंगलमा बसोबास गर्छ। पुर्खाले जंगलमा जीवनयापन गरेको भन्दै पराम्पराको निरन्तरतास्वरूप राउटेहरू जंगलमै बस्दै आएका छन्।

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार राउटेको जनसंख्या ६ सय १८ मात्र छ। यीमध्ये  एक सय ४७ मात्र जंगलमा बस्दै आएका छन्।

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका महिला जनसंख्याको आधाजस्तो संख्यामा छन्। उमेर पुगेका र विवाह भएका राउटे महिलाले बर्सेनि गर्भवती हुन्छन्। तर बच्चा भने निकै न्यून मात्र बाँच्छन्।

 विशेषगरी मध्य तथा सुदूरपश्‍चिम क्षेत्रका जंगलमा बस्ने राउटे समुदायमा सानै उमेरमा विवाह हुन्छ। त्यसपछि कम उमेरमै बच्चा जन्माउन सुरु गर्छन्। प्रायः हरेक वर्षजस्तो बच्चा जन्मिन्छन्। तर धेरैजसो अकालमै ज्यान गुमाउँछन्।

हरिबहादुर शाहीकी श्रीमती ढुसीकुमारी शाही (३९) २२ पटकसम्म गर्भवती भइसकिन्। तर उनको काखमा अहिले २ वटा मात्रै सन्तान छन्। ९ वर्षको उमेरमै बिहे गरेकी उनले सानै उमेरदेखि बच्चा जन्माउन थालिन्।

राउटे समुदायका पुरुष परिवार नियोजनका साधन प्रयोग गर्दैनन्। गर्भवती भएपछि महिलाहरू सुरक्षित गर्भपतनगर्दैनन्। उनीहरुका लागि बच्चा जन्माउनु धर्म हो। त्यसैले सकुञ्जेल बच्चा जन्माइरहन्छन्। बच्चा जन्माउने क्रममै कति महिलाले अकालमै ज्यान गुमाउछन् भने धेरै बच्चाहरू प्रकृतिसँग संघर्ष गर्न नसकेरै मर्छन्।

बच्चा जन्माउन सकुञ्जेल जन्माइरहनु राउटे महिलाहरुको रहर नभइ बाध्यता हो। गर्भवती हुँदा उनीहरुले न कुनै स्याहार पाउँछन्  न त पोषिलो खानेकुरा नै। जंगलमा अस्थायी रूपमा बनाइएको छाप्रोमा बस्ने भएकाले तातोको समेत व्यवस्था हुँदैन।

महिलाहरुले सुत्केरीले पाउनुपर्ने कुनै पनि सुविधा नपाएकै कारण कतिपयको बच्चा जन्मिनेबित्तिकै मर्छन्। 'गर्भवती हुँदा राउटे महिलाहरू न आइरन चक्की खान्छन्, न त राम्रो स्याहारसुसार नै पाउँछन्',राउटे उत्थान प्रतिस्ठानकी अध्यक्ष सत्यदेवी अधिकारी भन्छिन्, पोषणयुक्त खानेकुराको व्यवस्था हुँदैन। अौषधिउपचारमा जंगलको परम्परागत जडीबुटीमा विश्वास गर्छन्।'

बालविवाह र असुरक्षित सुत्केरी, उचित स्याहारको कमी तथा अत्यधिक चिसोका कारण राउटे महिलाको स्वास्थ्यमा नकारात्मक असर परेको छ। त्यसैकारण राउटे बस्तीमा जन्मिने बालबालिकाको बाल मृत्युदर समेत बढेको हो।

सुत्केरी हुन नसकेर २०६६ मा कालु शाहीको मृत्यु भयो। यस्तै २०७४ वैशाख ९ गते राउटे महामुखिया मैनबहादुर शाहीकी छोरी २५ वर्षीया डुग्री शाहीको पाठेघरको समस्या र निमोनियाका कारण मृत्यु भयो।

दुई सन्तान ईश्वरको वरदान मानिन्छ। बढ्दो जनसंख्या, महङ्गी तथा स्वास्थ्यका कारण थोरै सन्तान जन्माएमा राम्रोसँग लालनपालन गर्न एवं  शिक्षादीक्षा दिन सकिन्छ भन्ने मान्यता छ। तर राउटे महिलाहरू आफूले जन्माउन सक्दासम्म बच्चा जन्माइरहन्छन्। त्यसैले जन्माउने र जन्मिनेकाे ज्यानको टुगो हुँदैन।

राउटे समुदायका लागि सन्तान जन्माउनु सामान्य विषय हो। परिवार नियोजनका साधन प्रयोग गर्नु र गर्भपतन गर्नु भनेको उनीहरुका लागि अपराध हो। यतिसम्म कि उनीहरू अस्पताल समेत जाँदैनन्। ‍औषधि समेत सेवन गर्दैनन्। यद्यपि केही संघसंस्थाको पहलमा राउटे बस्तीमा शिविर सञ्चालन गर्ने काम केही समय पहिले भएको थियो।

स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनका लागि प्रोत्साहनस्वरूप सरकारले केही वर्षदेखि स्वास्थ्य संस्थामा आएर सुत्केरी गराउने महिलाहरुलाई भत्ताको व्यवस्था गरेको छ। बच्चालाई समेत न्यानो लुगा दिने गरिन्छ।

तर राउटे समुदायका महिलाहरू यी सबै कुराबाट बेखबर छन्। जंगलमै सुत्केरी हुन्छन्। सुत्केरी भएको केही दिनमै धान कुट्ने जस्ता गह्रुङ्गा काम गर्छन्।

राउटे बस्तीमा गत वर्ष कात्तिक–मंसिरमा मात्रै ५ बच्चा जन्मिएका थिए। त्यसमध्ये कोही पनि बाँचेनन्। चैतयता ३ वटा बच्चा जन्मिएका छन्। राउटे बस्तीमा १० बच्चा जन्मिदा ४ जति पनि बाँच्न समस्या हुने गरेको राउटे उत्थान प्रतिस्ठानकी अध्यक्ष अधिकारी बताउँछिन्।

बढीजसो जाडोले कठ्याङ्ग्रिएर तथा असुरक्षित तरिकाले सुत्केरी हुने गरेका कारण यस विषयमा राज्यले समेत सचेतना जगाउन आवश्यक रहेको अधिकारीको भनाइ छ। ' राउटेहरूले हरेक कुरा परम्परागत रूपमा मान्दै आएअनुसार गर्दै आएका छन्',अधिकारी भन्छिन्, 'उनीहरूलाई सचेत गराउनुपर्‍यो। सुत्केरी स्याहार कसरी गर्ने, के खान दिने भन्ने कुरा समेत सिकाउन जरुरी छ। यसमा राज्यले कार्यक्रम नै गर्नुपर्छ।'

सरकारले पौष्टिक आहारा मात्रै दिए पनि राउटेलाई धेरै राहत हुने उनको भनाइ छ।

सुरक्षित र वैध गर्भपतन सेवामा पहुँच वृद्धिका लागि जनचेतना जगाउन विश्वभर सेप्टेम्बर २८ तारिखका दिन सुरक्षित गर्भपतन सेवा दिवस मनाउने गरिन्छ। नेपालमा पनि यो दिवस मनाइन्छ।

वि.सं. २०५९ साल असोज १० गते मुलुकी ऐनको ११ औं संशोधनपछि गर्भपतनले कानूनी मान्यता प्राप्त गरेको थियो। सुरक्षित गर्भपतन सेवा नेपालमा २००४ देखि दिन थालिएको हो।

वार्षिक ६ लाख महिला गर्भवती हुन्छन् भने नेपालमा वार्षिक ८० हजार जनाले सुरक्षित गर्भपतन सेवा लिने गरेको तथ्यांक छ। सरकारले तोकिएका संस्थाहरूबाट नि:शुल्क रूपमा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने घोषणा गरेको छ।

राज्यको लोपोन्मुख जातिको सूचीमा रहेको राउटे जाति विशेषगरी मध्य तथा सुदुरपश्‍चिम क्षेत्रका जंगलमा बसोबास गर्ने गर्छन्। यस क्षेत्रका जंगलमा अस्थायी रूपमा बस्ने राउटेहरू समुदायमा कसैको मृत्यु भयो भने तुरुन्तै अन्यत्र बसाइँ सर्ने गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.