|

काभ्रे : काठमाडौं विश्वविद्यालय (केयू) मा आइएसओ सम्बन्धनप्राप्त वेल्डिङ तालिम तथा परीक्षा केन्द्र सुरु गरेका छन् । काभ्रेको जिल्लाको धुलिखेलस्थित रहेका केयूको टेक्निकल ट्रेनिङ सेन्टर (टिटिसी) र दक्षिण कोरियाका क्वाङ एम स्किल डेभलपमेन्ट सेन्टर प्रालि (केएएसडिसी)ले केन्द्र सञ्चालनमा ल्याएका हुन्। 

टिटिसीका निर्देशक दिवाकर विष्टले नेपालमा अन्तरराष्ट्रिय स्तरको वेल्डिङको दक्ष जनशक्ति उत्पादनसँगै देशमा बेरोजगार समस्या केही हदसम्म भए पनि घट्ने बताए। केएएमडिसी नेपालका अध्यक्ष पूर्णलाल श्रेष्ठले विश्वमा दक्ष वेल्डिङ कामदारको माग बढिरहेको वेला तालिम तथा परीक्षा केन्द्रको स्थापना हुँदा खुशी लागेको बताए। 

टिटिसीका निर्देशक विष्ट र केएएसडिसी नेपालका अध्यक्ष पूर्णलाल श्रेष्ठले वर्षका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। वेल्डिङको प्रमाणपत्र प्राप्त गरेपछि विश्वको जुनसुकै स्थानमा गएर पनि काम गर्न सकिनेछ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामाले वेल्डिङ तालिम तथा परीक्षा केन्द्रको विषयमा जानकारी दिएका थिए। उनले वेल्डिङ गरिरहेका जनशक्तिलाई सैद्धान्तिक ज्ञान दिएर विश्वभरि मान्यता प्राप्त आइएसओ प्रमाणपत्र दिलाउने बताए। 

नेपालमा वेल्डिङसम्बन्धी विभिन्न तालिम केन्द्र भए पनि अन्तरराष्ट्रिय स्तरको तालिम केन्द्र पहिलो हो। केएएसडिसीले तालिमलाई चाहिने १० वटा वेल्डिङ मेसिन तथा सामग्री केन्द्रलाई हस्तान्तरण गरेका छन्।

केएएसडिसीका प्रतिनिधि गणेश योञ्जनले वेल्डिङ तालिममा २० वर्षदेखि ५० वर्षसम्मका व्यक्ति सहभागी हुन पाउने जानकारी दिए। उनले एक सिफ्टमा २० जनाले तालिम लिन सक्ने बताए। वेल्डिङको अनुभव भएकाहरूले एकमहिने र नभएका व्यक्तिहरूले ६ महिना तालिम लिनुपर्ने योञ्जनको भनाइ छ। केन्द्रले पहिलो परीक्षा फेब्रुअरी २० तारिखमा लिने तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.