|

गोरखा : सधैँजसो खानेपानीको हाहाकार हुने गोरखा सदरमुकाममा यस वर्ष निरन्तर वर्षा भइरहेका कारणले खासै समस्या छैन। स्थानीय स्तरमा खानेपानी सेवा प्रदान गर्दै आएको पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकै अनियमितताका कारण भने पानी आउँदैन। गोरखा सदरमुकामको अधिकांश घरमा पानीको सेवा दिने नै यही आयोजना हो।

खानेपानी नियमित उपभोग गर्न नपाएका उपभोक्ताहरुले बिल भने जरिवाना परेपनि तिरिरहेका छन्। यहाँ अचम्म कुरा के छ भने जिल्लाका ठूला सरकारी कार्यालयले नै खानेपानीको महशुल तिरेका छैनन्। सरकारी कार्यालयले पानी उपभोग गरेबापतको बिल नतिर्दा लाखौँ रकम बक्यौता रहेको पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विनोदबाबु अर्यालले बताए।

‘सबै प्राविधिक विषयवस्तु सँग जोडिएकोले कहिलेकाहीँ पानी वितरणमा समस्या भइरहेको छ’ अर्यालले भने ‘त्यत्ति हुँदाहुँदै पनि उपभोक्ताहरुले रिसाई रिसाई भनेपनि बिल तिरिरहनुभएको छ। तर, सरकारी कार्यालयले भने बिल नै तिर्दैनन्।’ पटक पटक बिल तिर भनेर पत्राचार समेत गर्दा नतिरेको संस्थाको गुनासो छ।

खानेपानीको सबै भन्दा धेरै बिल जिल्ला शिक्षा कार्यालयको उठेको छ। उसले २०७२ साल मंसिरदेखि गत बैशाखसम्मको एक लाख १९ हजार ४१ रुपैँया तीन पैसा तिर्न बाँकी छ। त्यस्तै जिल्ला समन्वय समितिले पनि पानीको उपभोगबापतको एकलाख ६५ हजार पाँचसय सात रुपैयाँ तिर्न बाँकी छ। उसले २०६९ साल जेठ देखि २०७३ साल सम्मको महशुल तिरेको छैन।

त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयले पनि २०६७ सालदेखि पानीको महशुल नतिरेको खानेपानी संस्थाका अध्यक्ष अर्यालले बताए। जनस्वास्थ्य कार्यालयले हालसम्मको ९३ हजार एकसय २४ रुपैयाँ ५० पैसा पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई तिर्न बाँकी छ।

के भन्छन् त सरकारी कार्यालयका हाकिम ?

जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीलाई खानेपानीवापतको त्यति धेरै महशुल तिर्न बाँकी नभएको बताए। ‘यहाँबाट बिल तिर्न गइरहेको छ। बरु मिटर मिलेको छैन। अस्वभाविक मिटर घुमेको छ। यो हेर्दिनुस भन्दा संस्थाका कर्मचारीहरु आउनुहुन्न। यहाँबाट कति किन बाँकी भयो थाहा छैन’ उनले भने।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद आचार्यले भने त्यो बिल नतिर्ने तर्क गरे। ‘साना शहरीले जिल्ला विकासको कम्पाउण्ड भित्रबाटै डिप बोरिङ गरेर पानी झिेकेको छ’ आचार्यले भने ‘हाम्रै जग्गाबाट पानी लैजाने अनि हाम्ले पैसा तिरेर पानी खानुपर्ने? हामीले बोरिङ उप्काएर फालिदिएम भने के हुन्छ?’

त्यस्तै जिल्ला जनास्वास्थ्य कार्यालयमा भने साना शहरीले २०६८ सालमा नै विल नतिरेपछि खानेपानीको लाइननै काटिदिएको थियो। ‘हाम्रो कार्यालयमा पानीको लाइननै काटेको छ’ जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भने ‘तपाईँहरु पानी जोडिदिनुस म नियमित पैसा दिन्छु भन्दा पनि पानी दिँदैनन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.