|

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणत्मक सिरिजमा नेपाल र नामिबियाको खेल जारी छ। 

सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया भिडिरहेका हुन्। त्रिवि क्रिकेट मैदानमा  नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। 

यस सिरिजमा प्रशिक्षक मोन्टी देसाईले डेब्यू गरेका छन्। त्यस्तै विवादकाबीच सन्दीप लामिछानेले पनि राष्ट्रिय टिममा कम्ब्याक गरेका छन्। 

नाबालिक बलात्कारको आरोप लागेर धरौटीमा छुटेका सन्दीपलाई टिममा समावेश गरेको भन्दै आमरुपमा विरोध भइरहेको बेला उनलाई आजको खेलमा प्लेइङ एघारमा समावेश गरिएको छ।

नेपालको प्लेइङ एघारमा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन्।

आजदेखि हुने यो त्रिकोणीय सिरिज फागुन ९ गतेसम्म संचालन हुने छ । यस सिरिजमा तिनै टिमले एक अर्काविरुद्ध दुई दुई खेल खेल्ने छन्। नेपालले नामिबियाविरुद्ध आज र फागुन ६ गते खेल्ने छ भने स्कटल्याण्डविरुद्ध फागुन ५ गते र फागुन ९ गते खेल्ने तालिका रहेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल अहिले २४ खेल खेल्दै १८ अंकसहित छैटौं स्थानमा रहेको छ। त्यस्तै स्कटल्याण्ड अहिले ३२ खेलमा ४६ अंकसहित शिर्ष स्थानमा छ भने नामिबिया ३० खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.