|

डडेल्धुरा : ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन‚ कला‚ संस्कृति‚ खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव’ शुरु भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघको आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यापार समृद्ध डडेल्धुराको आधार’ नारासहित बिहीबार अमरगढी नगरपालिका–४ टुँडिखेलमा महोत्सव शुरु भएको हो।

महोत्सवको बिहीबार दिउँसो प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले उद्घाटन गरिन्। सांसदले राणाले डडेल्धुराको समग्र विकासका लागि आफू लागिपर्ने बताइन्। यहाँको विकासका लागि स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटकीय क्षेत्रको प्रवर्द्धन आवश्यक रहेको बताइन्। राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी हुन्।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, संविधानसभा सदस्य ज्ञानु गैरे, प्रदेशसभा सदस्यद्वय डा ताराप्रसाद जोशी र सरस्वती खड्कालगायतको उपस्थिति थियो।

यहाँका ऐतिहासिक पुरातात्विक‚ सांस्कृतिक‚ धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्वद्धन तथा कला संस्कृतिको जर्गेना गर्न महोत्सव आयोजना गरिएको डडेल्धुरा उद्योग वाणिज्यका अध्यक्ष द्विजराज भट्टले बताए। उनले डडेल्धुराको विकासका लागि मेडिकल कलेज, विमानस्थल, सडक विस्तारलगायत योजना शीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए।

उद्घाटनमा सांस्कृतिक झाँकीसहित विभिन्न विद्यालयले नृत्य प्रस्तुत गरेका थिए। महोत्सवका आकर्षणहरूमा स्थानीय लोपोन्मुख कला, संस्कृति‚ वेशभूषा, खेलकुद एवं पुरातात्विक क्षेत्रसम्बन्धी प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रमसहित मनोरञ्जन, स्थानीय लघु, घरेलु, उद्योग एवं उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी रहेका छन्।

महोत्सवमा १ सय ५० स्टल राखिएको छ। महोत्सवमा सर्वसाधारणका लागि ७५ र विद्यार्थीका लागि ५० रूपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। विद्यालय तथा क्याम्पसका विद्यार्थी विद्यालयको पत्रसहित टोलीमा आए १० प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ।

‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेश तथा ७५ वर्षभन्दा माथिका उमेरका वृद्धवृद्धालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ।

महोत्सव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ। १ लाख ५० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ। महोत्सव फागुन १४ गतेसम्म सञ्चालन हुनेछ।

उद्योग वाणिज्य संघले महोत्सव सम्पन्न गर्न ७२ लाख रूयैयाँ खर्च हने अनुमान गरेको छ। डडेल्धुरा उद्योग वाणिज्य संघले यसअघि विस २०६५, २०७२, २०७३ र २०७६ सालमा महोत्सव आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.