|

जाजरकोट : बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्न जाजरकोटको उत्तरपूर्वी क्षेत्रका अधिकांश विद्यार्थीहरु आफनो पढाई छाडेर हिमाली पाटनतिर लागेका छन्। पूर्वी क्षेत्रका प्राय: विद्यालयका सबैजसो विद्यार्थीहरु पाटनतिर लागेपछि विद्यालयको पठन-पाठन प्रभावित भएको छ।

माथिल्लो कक्षाका सबै विद्यार्थी पाटनतिर लागेपछि विद्यालयमा विद्यार्थी नहुँदा शिक्षकहरु काम विहिन भएका छन्। जिल्लाका कतिपय विद्यालयहरुमा विद्यार्थी नहुदा पढाई समेत सुरु भएको छैन। ६ कक्षादेखि माथिका सबै विद्यार्थी यार्सा खोज्न लेकतिर गएका कारण पठनपाठन सुरु हुन नसकेको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए।

'गाउँमा विद्यार्थीहरु नै छैनन्। सबै यार्सा खोज्न हिमाली पाटनतिर लागे। विद्यालय सुनसान छ। कसलाई पढाउनु,' उनले भने। जिल्लाका अधिकांश विद्यालयका विद्यार्थीहरु बहुमुल्य जडिवुडी यार्सा टिप्न कर्णालीका जुम्ला, डोल्पाका पाटनहरुमा जाने गर्दछन्। यहाँका वारेकोट गाँउपालिकाका  नायकवाडा, रामीडाँडा, सक्ला, रोकायगाँउ, कुशे गाँउपालिकाका पैक, त्रिवेणी नलगाड नगरपालिकाको रग्दा, भगवती, लहाँ, खगेनकोट लगायतका गाँउका करिब ५ हजार बढी विद्यार्थीहरु पढाई छाडेर पैसा कमाउनका लागी यार्सा खोज्न लेख पाटन तिर लाग्ने गरेका छन्।

यार्सा खोज्न खाद्यान्न  र लत्ता कपडा बोकेर गाउँका अधिकांश मानिसहरु गाउँ नै सुनसान हुने गरि पाटनतिर लागेका छन्। एक महिना मात्र यार्सा टिपे एकवर्ष भरीको पढाई खर्च पुग्ने भएकोले पढाई भन्दा यार्सा टिप्नु प्यारो भएको त्रिवेणी नलगाड नगरपालिका ७ स्थित पन्चभयार मावि जिकु वाकाका कक्षा ८ मा अध्ययनरत विद्यार्थी पोषण शर्माले बताए। “विद्यालयका सबै विद्याथीहरु  यार्सा टिप्न डोल्पा तिर गएपछि विद्यालयमा कोही हुदैनन। अनि विद्यालयमा पढाई पनि हुदैन। सिजन सकिएर घर आएपछि पढ्ने गर्छु,' शर्माले भने।

हरेक वर्ष यार्सा टिप्ने सिजनमा विद्यालयमा पढाई नहुँदा कोर्स पुरा नहुने भएकोले कोर्स पुरा नहुँदै विद्यार्थीले परीक्षा दिने गरेका छन्। यो समस्याबाट कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु बढी मारमा पर्ने गरेका छन्। जाजरकोटका पूर्वी क्षेत्रका विद्यालयहरु यार्सा टिप्ने समयमा सधैं बन्द हुने गरेका छन्।

जिल्लाको पूर्वी भागका विद्यालयका विद्यार्थीहरु पढाई छोडेर यार्सा टिप्न गएको विषयमा कुनै जानकारी नभएको जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताए। विगतका वर्षहरुमा यार्सा टिप्न जाने विद्यार्थीका कारण जाजरकोटका पूर्वी क्षेत्रका पाँच दर्जन विद्यालयका हजारौं विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको गरेको थियो।

यसै समस्यालाई मध्यनजर गरेर  जाजरकोटमा जिल्ला स्तरको अनुगमन समितिको बैठकबाट बालबालिकाहरुलाई पढाई छाडेर यार्सा टिप्न जान नदिने निर्णय गरिएको जिशिअ सिंहले जानकारी दिए। बाटोमा बालबालिकालाई यार्सा टिप्न जान नदिनका लागि प्रहरीलाई समेत जानकारी गरिएको उनले बताए।

एउटा यार्सालाई ५ सय रुपैयाँमा पाटनमा नै ठेकेदारले खरिद गर्ने गरेका छन्। राम्रोसँग यार्सा खोज्न एक जनाले ३ लाखसम्म कमाउने गरेका छन्। यार्सा संकलन गरेर यहाँका मानिसले लाखौं रकम जिल्लामा भित्र्याउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.