|

काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि कुमारी माध्यमिक विद्यालयले जितेको छ।

खानीखोला–७ स्थित् महाँकालमा सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ८ रजत र २ कांस्य गरी १७ पदकसहित कुमारी माविले उपाधि जितेको हो।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले शिक्षा क्षेत्रमा परिवर्तनको महसुस हुने गरी केही काम गर्ने संकल्पसहित आफू लागिपरेको बताउँदै विगतमा रोकिएको राष्ट्रपति रनिङ शिल्ड अब निरन्तर हुने बताए।

‘देशमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड हुँदा गाउँपालिकाले दोस्रो पटक प्रतियोगिता गर्नु परेको छ,’ उनले भने, ‘विगतमा जे भएपनि आगामी दिनमा यो (राष्ट्रपति रनिङ शिल्ड) प्रतियोगिता निरन्तर हुनेछ।’

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि गाउँपालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिएको बताए। उनले सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयले नै राष्ट्रपति रनिङ शिल्ड हात पारेको बताए।

प्रतियोगितामा ७ स्वर्ण, १ रजत पदक हात पार्दै जनविकास मावि द्वितीय र ६ स्वर्ण, २ रजत र ४ कांस्य पदक प्राप्त गर्दै जनहित मावि तृतीय हुन सफल भएका छन्। त्यस्तै २ स्वर्ण, २ रजत र १ कांस्य पदक जित्दै भृकुटी मावि प्रतियोगितामा प्रथम हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्रसँगै द्धितीय, तृतीय र सन्त्वान्न हुने विद्यालय र विद्यागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई मेडल, प्रमाणपत्रसमेतले पुरस्कृत गरिएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङ, उपाध्यक्ष जिम्बा, गाउँपालिका शिक्षा शाखाको तर्फबाट होमबहादुर वाईबा र चक्रबहादुर थापा  लगायतले विजेता विद्यालय र पदकविजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए।

गाउँपालिकाभित्रका ८ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र भलिबल, छात्र र छात्रा दुवैको दौड, हाईजम, लङजम, त्रिपलजम्प, ज्यावलिङ, सटपुट, कराँते गरी ८ विधाका ५८ वटा पदकका लागि दुई सय जना विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा सहभागी सबै विद्यालयको खेलाडीलाई खाजा खर्च समेत व्यवस्था गरेका छन्। प्रतियोगिता खानीखोला गाउँपालिकाको आर्थिक व्यवस्थापनमा जनहित माविले आयोजना गरेका हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.