|

लहान : संघीय समाजवादी फोरम नेपालले मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोकी आमा रानियादेवी महतोलाई गाउँपालिकाको उम्मेदवार बनाउने भएको छ। मधेस आन्दोलनका सहिदहरुको सम्मान गर्दै फोरम नेपालले सहिद परिवारबाट सहिद महतोकी आमा रानियादेवीलाई गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनाउन लागेको जनाएको छ।

फोरम नेपालका केन्द्रीय सदस्य तथा मधेसी सहिद रमेशकुमार महतो स्मृति प्रतिष्ठानका अध्यक्ष राजलाल यादवले रनियाको उम्मेदवारीका लागि गाउँपालिका पार्टी कमिटीले सिफारिस गरिसकेकाले उम्मेदवार बनाउने तय गरिएको जानकारी दिए।

फोरमका केन्द्रीय कोषाध्यक्ष विजय यादवले मधेस आन्दोलनमा सहिद भएका अन्य परिवारले पनि स्थानीय तहको चुनावमा उम्मेदवार हुने माग गरे पार्टीले ससम्मान स्वीकार्ने जानकारी दिँदै टिकट दिइने बताए। ‘स्थानीय चुनाव मात्र होइन, हरेक ठाउँमा सहिद परिवारलाई प्राथमिकता दिने पार्टीको मुख्य नीति नै हो’ कोषाध्यक्ष यादवले भने।

को हुन् रनियादेवी?

वि.सं. २०६३ मा सिरहाको लहानमा अन्तरिम संविधानमा मधेसीलाई उपेक्षा गरिएको भन्दै तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको आयोजनामा माघ ५ गते लहानमा भएको चक्काजाम हेर्न आएका विद्यार्थी रमेश कुमार महतो त्यहीं मारिएका थिए। महतोकी आमा सिरहाको नवराजपुर गाउँपालिका ३ मझौरा जगतपुर निवासी रविया महतोकी कान्छी श्रीमती हुन्, रनियादेवी।

सामान्य खेतीपातीको काम गरेर जीविका चलाउँदै आएका महतो परिवारले मधेसी आन्दोलनमा आफ्नो परिवारको होनहार सदस्य गुमाएर पनि उपेक्षा गरिएको गुनासो गरिरहेका बेला स्थानीय तहको चुनावमा उम्मेदवार बन्न टिकट दिने कुराले त्यति उत्साहित नबनाएको रमेशका बाबु रविया महतोले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.