|

चितवन : भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सत्तारुढ कांग्रेस-माओवादी केन्द्रले चुनावी तयारी सुरु गरेका छन्। एमालेले भने विरोध अभियान जारी राखेको छ।

मतगणना सुरु हुनुपर्ने एमालेको मागविपरीत आयोगले फेरि मतदानको निर्णय गरेको थियो।

वडा नं. १९ को मतगणना भइरहँदा जेठ १४ गते आइतबार मध्यरातमा मतपत्र च्यातिएको थियो। माओवादी केन्द्रका गणना प्रतिनिधिले हार्ने अवस्थामा पुगेपछि मतपत्र च्यातेको भन्दै गणना नरोक्न मागसहित एमालेले सोमबारदेखि दबाबमूलक अभियान सुरु गरेको थियो।

एमालेले मतगणनास्थल भरतपुर कभर्ड हल नजिकै धर्ना दिँदै आएको थियो। आयोगको निर्णय आएपछि शनिबार एमालेले धर्ना कार्यक्रम रोकेर साँझ मसाल जुलुस निकाल्यो। आइतबार मध्याह्न भरतपुरदेखि नारायणगढसम्म विरोध जुलुस प्रदर्शन गर्‍यो। चौबीस कोठीबाट सुरु भएको जुलुस पुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

सभामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले आयोगले आफ्नो कुरा नसुने पनि सर्वोच्च अदालतबाट न्याय पाउने बताए।

मतदान सुरु गराउने निर्णयविरुद्ध सर्वोच्चमा रिट परे पनि सत्तारुढ दलले चुनावको तयारी सुरु गरेका छन्। माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त बैठकले वडा नं. १९ को वडा अध्यक्षसहितका सबै पदमा माओवादीले कांग्रेसलाई मत हाल्ने सहमति गरेको छ।

त्यस्तै कांग्रेसका सबै मतदातालाई प्रमुख पदमा माओवादी उम्मेदवार रेणु दाहाललाई मत हाल्ने वातावरण बनाउन थप सक्रिय हुने सहमति बैठकले गरेको छ। मेयर पदमा कांग्रेस माओवादीबीच सहमति भए पनि कांग्रेसका सबै मतदाताले दाहाललाई मत दिएको अवस्था थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.