|

बनेपा : पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले राष्ट्रपतिको चुनावमा हार्ने देखिएपछि केपी ओलीले सुवास नेम्वाङलाई उठाएको आरोप लगाएका छन्। एमाले अध्यक्ष ओलीले नेम्वाङको राजनीति सकाउन यस्तो कदम चालेको उनको भनाइ छ।

नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य दोङले नेकपा एमालेका सचेत नेताहरूले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिनुपर्ने बताए।

नेता दोङले सुवास नेम्वाङलाई मत दिँदा खेर जाने र रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको दाबी गरे। 

‘एमालेका सचेत नेताले रामचन्द्रलाई भोट दिनुपर्छ, सुवास नेम्वाङलाई मत दिँदा खेर मात्रै जान्छ’, उनले भने, ‘हार्ने देखिएपछि केपी ओलीले नेम्वाङलाई उठाएर उनको राजनीति सकाउन लागे। त्यो कुरा नेम्वाङ र एमालेका नेताले बुझ्न सकेनन्।’

शनिबार काभ्रेको धुलिखेलस्थित प्रेस सेन्टर नेपाल काभ्रेको पहिलो साधारणसभा तथा सहिद सप्ताह कार्यक्रममा दोङले यस्तो बताएका हुन्। 

दोङले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असफल हुँदा जनयुद्ध र जनआन्दोलनको जगमा आएको व्यवस्था असफल हुने बताए। अहिले प्रचण्डलाई असफल बनाउने खतरा भइरहेको उनको जिकिर थियो।

दोङले व्यवस्था बदलिए पनि राज्य सञ्चालनको तरिका बदल्न नसकेको बताए। त्यस्तै शान्ति प्रक्रियामार्फत टुंग्याउनुपर्ने काम अति ढिला भएको उनको भनाइ छ। नेता दोङले शान्ति सम्झौताको मुख्य हस्ताक्षरकर्ता एमाले नभई नेपाली कांग्रेस भएको बताए।

उनले दुर्गा प्रसाईंको अभियान एमाले र राजावादीको डिजाइनमा भइरहेको बताए।

कार्यक्रममा बागमती प्रदेशको पूर्वमन्त्री रत्न ढकालले संगठनलाई सुदृढ गरी अघि बढ्न आवश्यक रहेको बताए। कार्यक्रममा नेता दोङ, ढकालसँगै संविधानसभा सदस्य तेजबहादुर मिजार, प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्का, महासचिव सन्तोष पौडेल लगायत उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.